काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठक अवज्ञा गर्न सदस्यहरुसँग आग्रह गरेको छ । महासचिव लीलामणि पौडेलले बिहीबार परिषद् सदस्यहरुलाई पत्र लेखेर प्रधानन्यायाधीश जबराले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको हो ।
परिषद् सदस्यहरुलाई लेखिएको पत्रमा न्यायपरिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न अनुरोध गरिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु लामो समयदेखि आन्दोलनमा छन्।
प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका बारले गरेको छ ।
‘न्यायिक मात्र नभई आम नागरिक समेतको विश्वास गुमाएका प्रधान न्यायाधीशले न्याय परिषद्को बैठक डाकी थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने टड्कारो आशंका रहेकाले निजले डाकेको न्याय परिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न र विकृति, विसंगति, विचौलिया, भ्रष्ट्राचारमुक्त न्यायपालिका बनाउने बारको अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि एशोसिएसनले चरणबद्ध आन्दोलन गर्दै आएको छ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारले आजबाट उपत्यकाका सबै अदालत र न्यायाधीकरणमा धर्ना दिन सुरु गरेको छ । यस्तै, सर्वोच्चका अधिकांश न्यायाधीशले समेत जबरालाई असहयोग गरिरहेका छन् ।