भरतपुर । यही कात्तिक २७ र २८ गते राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ मा राष्ट्रिय विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको हो ।
जिल्लामा पहिलोपटक हुन लागेको राष्ट्रिय प्रतियोगिता लेक ट्वान्टी थाउजेन्ड फार्म रिसोर्ट (एलटिके हवेली)मा हुने छ । महिला–पुरुष खेलाडीको ३६ विधामा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देभेन लोहनीले जानकारी दिए ।
उनका अनुसार ब्रेष्टस्ट्रोकतर्फ १८, बटरफ्लाईतर्फ आठ र फ्री स्टाइलतर्फ १० खेलहरु हुनेछन् । २५ मिटरदेखि १०० मिटरसम्मका पौडी प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल पौडी संघको रहेको छ ।
प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयका ८–१०, १२–१४ वर्ष उमेर समूहका विद्यार्थी र १५ वर्षमाथिका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका लागि २५ मिटर लम्बाइ, १६ मिटर चौडाइमा फैलिएको पौडी पोखरी ६ लेनको तीनदेखि पाँच फिटसम्मको गहिरो छ।