विराटनगर । मोरङ कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । कारागारको आन्तरिक प्रशासनका नाइके र चौकीदारले आफूहरुलाई यातना दिएको भन्दै अन्य कैदीले आक्रमण गरेपछि झडप भएको हो ।
Advertisement
झडपमा ६ जना घाइते भएको मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिनुभयो । घाइते हुनेमा किरन गुरुङ, विशाल मोक्तान, डिल्ली देवान, निर्मल ढकाल, सुर्यदीप गुप्ता र शेखर राई रहेका छन् । उनीहरुको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते भएका सबै चौकीदार र नाइकेहरु हुन् ।
कारागारमा झडप भएपछि १४ जना कैदीबन्दीलाई बाहिर राखिएको छ । उनीहरु त्यहाँ रहे फेरि झडप हुन सक्ने कारागार व्यवस्थापनले जनाएको छ । उनीहरुलाई अन्य कारागारमा सार्नेबारे विभागसँग समन्वय भइरहेको जनाइएको छ ।
मोरङ कारागारमा हाल ८९७ जना कैदीबन्दी छन्।