काठमाडौं । भाटभटेनी सुपरमार्केट टंगालमा ‘कम्बो टावर पार्किङ’ सञ्चालनमा आएको छ । भाटभटेनीले आफ्नो सेवा लिन आउने ग्राहकलाई लक्षित गरी ‘टावर पार्किङ सिस्टम’ सुरु गरेको हो ।
भाटभाटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले आइतबार टावर पार्किङको उद्घाटन गरेका छन् । टावर पार्किङमा ४४ वटासम्म गाडी पार्किङ गर्न सकिनेछ । साना कार र सेडान सेगमेन्टका सबै गाडी पार्किङ गर्न सकिनेछ ।
कम्बो टावर पार्किङको निर्माण भारतीय इन्जिनियरिङ कम्पनी ओमेगा इन्जिनियरिङले गरेको हो । टावर पार्किङलाई म्यानुअल र अटोमेटिक दुवै तरिकाबाट सञ्चालन गर्न सकिन्छ।
टावर पार्किङमा राखेको गाडीमा स्क्रयाच हुने, अर्को गाडीले छोइदिनेलगायतको समस्या हुँदैन । गाडीलाई भुइँतल्लामा भएको ‘स्लाब’मा राखेपछि जुन ठाउँमा पार्किङ खाली छ, त्यहाँ पार्किङ हुनेछ। पार्किङमा १६ सय एमएम उचाइसम्मका गाडी टावर पार्किङमा राख्न सकिन्छ ।
टावर पार्किङ निर्माणको लागि फलामको प्रयोग गरिएको छ ।
गाडीलाई माथि लैजानको लागि चेन र बेरिङको प्रयोग हुन्छ। पार्किङमा प्रवेश गर्नेबित्तिकै गाडी लिफ्टमा बस्छ, त्यसपछि लिफ्टले जहाँ पार्किङ गर्ने हो त्यही तलामा पुर्याउँछ ।