दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ले गरिखाने वर्गको आवाज बोलेको बताउनुभएको छ ।
दाङकै पुरानो पुस्तकालयको रुपमा रहेको सर्वोदय पुस्तकालयले आयोजना गरेको महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११३ औं जन्म जयन्ती तथा तिहारको सुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ‘हातका मैला सुनका थैला के गर्नु धनले’ भन्ने कुराले देवकोटाको दृष्टिकोण र वर्गपक्षधरता स्पष्ट देखिएको बताउनु भएको हो । उहाँले मुनामदनले नै लक्ष्मीप्रसाद देवकोटालाई जनतासँग परिचित गराएको पनि बताउनुभयो ।
कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष डा. अमर गिरी, राप्ती साहित्य परिषद अध्यक्ष गिरीराज शर्मा, प्राडा केसव सुवेदी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य लुमकान्त न्योपाने, नेपाली कांग्रेस जिल्ला उप सभापति कमानसिंह भारती, पूर्वराज्यमन्त्री सुष्मा शर्मा, प्राध्यापक डा. नारायण अधिकारी, साहित्यकार प्राध्यापक टिकाराम उदासी, नागरिक समाजका जिल्ला अध्यक्ष केबि मसाल, प्रलेसका पूर्वकेन्द्रीय उपाध्यक्ष शसिधर भण्डारी, लेखक संघ जिल्ला उपाध्यक्ष गोबिन्द पौडेल, प्रलेस केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो ।
पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रराज पन्तले स्वागत गर्नु भएको थियो भने सञ्चालन सहसचिव सुसिला आचार्यले गर्नु भएको थियो ।