महेश रिजाल, दाङ ।
राजपुर गाउँपालिका वडा नंं. ५ को विकट महतिनी खोलामा विद्युत विस्तार भएको छ । ८२ घर धुरी जनसङ्ख्या बसोबास गर्ने उक्त गाउँमा यही २०७८ कात्तिक ५ गते साँझदेखि बिजुलीबत्ती बालेर गाउँ झलमल हुँदा स्थानीय दलबहादुर गिरी खुसीले गद्गद् भएका छन् ।
उक्त गाउँमा विद्युत विस्तार गर्न राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष एवम् सञ्चारकर्मी महेश रिजालले उक्त गाउँको झुप्पाखाडा महिला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष भीम ुमारी बुढा र वर्तमान अध्यक्ष सुनिता बुढाको नेतृत्वमा तत्कालीन ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली र टोपबहादुर रायमाझीसमक्ष दुईपटकसम्म गाँउले प्रतिनिधि मण्डल विद्युत विस्तारका लागि त्यहाँ पुगेको थियो । त्यसका लागि राष्ट्रिय जनमोर्चाका तत्कालीन सभासद मीना पुन र वर्तमान सांसद दुर्गा पौडेलले प्रतिनिधि मण्डललाई ऊर्जामन्त्रीसमक्ष भेट गराउन सहयोग पुर्याउनुभएको थियो ।
उक्त पहलबमोजिम नेपाल विद्यतु प्राधिकरण लमही डिभिजनबाट गत आ.व. २०७७÷७८ मा विद्युत विस्तार भई सोही कार्यालयबाट सो गाउँमा कात्तिक ५ गतेदेखि विद्युत बल्न सफल भएको छ । गढवा, राजपुर ग्रिडको चङ्गुवा, पथरैया, नयाँबस्ती, हथिहवा, सिमलखुटी हुँदै उक्त महतिनिया खोलासम्म करिब ६ किमिमा विद्युत लाइन विस्तार कार्य सम्पन्न भएको छ ।
उक्त कार्य गर्दा नेपाल विद्युत प्राधिकरण दाङ, लमही डिभिजन, राजपुर गाउँपालिका वडा नं. ५ को आर्थिक तथा प्राविधिक अनुदान सहयोगसमेत रहेको थियो भने नेपाल पत्रकार महासङ्घ दाङ शाखा, संवाद समूह सचिवालय तुलसीपुरसमेतको समन्वयकारी भूमिका रहेको थियो ।
यसरी गाउँमा विद्युत पुगेपछि चङ्गुवा, जग्रहवालगायतका गाउँमा काखमा दुधेबच्चा र पिठ्युँमा खाद्यान्न बोकेर कुटानी पिसानी गर्न जानुपर्ने बाध्यता अब हट्छ कि भन्ने स्थानीय महिला अगुवा भूमिसरा गिरीले बताउनुभयो ।
कात्तिक ५ गते शुक्रबार प्राधिकरण लमहीका इलेक्ट्रिक सुपरभाइजर मनोज शाहसहित आठ जनाको प्राविधिक टोली त्यहाँ खटिई विद्युत सञ्चालन गर्ने कार्य भएको थियो ।
गत आ.व. २०७७÷७८ मा नेपाल विद्युत प्राधिकरण लमही डिभिजनको पूर्ण अनुदानमा गरिएको विद्युत लाइन विस्तार कार्यमा रोल्पा निर्माण सेवा प्रालिले जिम्मा पाएको थियो । उक्त कार्य गर्दा गाउले युवा र समुदायको तर्फबाट सहयोगी भूमिका महत्त्वपूर्ण रहेको थियो । सो विद्युत विस्तारबाट ८२ घरधुरीका एक हजारभन्दा बढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने भएको छ ।
