काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपाली नेताहरुकै कारण नेपालको आन्तरिक मामिलामा भारत मुछिने गरेको बताएका छन् । एक नेपाली सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै पूर्वराजदूत रेले नेपाली पक्षको आग्रहमा भारतले नेपालको आन्तरिक मामिलामा संलग्न हुनुपरेको बताएका हुन् ।
नेपालमाथि भारतले हस्तक्षेप गर्ने गरेको आरोप लाग्नेबारे सोधेको प्रश्नमा रेले भनेका छन्, ‘हामीले हस्तक्षेप गर्नुभन्दा पनि नेपाली पक्षले गरेको आग्रहमा नेपालका कतिपय घटनामा भारत मुछिनु परेको अवस्था पनि छ । माइक्रोम्यानेजमेन्ट गरेको जुन आरोप हामीमाथि आउँछ, त्यो एकतर्फी होइन, दुईतर्फी नै छ भन्दा हुन्छ ।’
राजदूत रेको हालै प्रकाशित पुस्तकमा उनले नेपालका गृहमन्त्रीले नै प्रहरीका उच्च अधिकारीको बढुवा गर्नुपूर्व राजदूत हुँदा आफूसँग सल्लाह लिएको प्रसंग उल्लेख गरेका छन्।
प्रहरी महानिरीक्षकको दौडमा रहेका चारजना प्रहरी अधिकारीहरूले इण्डिया हाउसमा आफूसँग बेग्लाबेग्लै भेट गरेको पूर्व राजदूत रेले आफ्नो पुस्तक ‘काठमाडौँ डिलेमा रिसेटिङ इण्डिया–नेपाल टाइज’ को पृष्ठ १८ मा लेखेका छन् । आफूले बोलाएको नभई उनीहरू आफैं भेट्न आएको रेले पुस्तकमा उल्लेख गरेका छन् । उनले नेपालको आईजीपी पद भारतीय चासो विषय भएको स्वीकारोक्ति पनि गरेका छन् ।
पुस्तकमा उल्लेख सोही प्रशंगबारे सोधिएको प्रश्नमा पूर्वराजदूत रेले भनेका छन्, ‘मैले पुस्तकमा जे लेखेको छु, इमान्दारीपूर्वक लेखेको छु। त्यसमा म दृढ छु। नेपालका प्रहरी अधिकारीको बढुवासम्बन्धी जुन प्रसंग पुस्तकमा छ, त्यो दुई फरक घटनाको कुरा हो ।’
पूर्वराजदूत रेले कालापानीमाथि नेपालको दाबी सही नभएको दाबी पनि गरेका छन् । उनले नेपाल बिनाप्रमाण कालापानी आफ्नो भन्ने दाबी दोहोर्याइरहेको आरोपसमेत लगाएका छन् । नेपालको दाबीले भारतसँगको दीर्घकालीन सम्बन्धमा नै असर पारेको उनको तर्क छ । यस्तै, उनले भारतको सुरक्षा संवेदनशीलता छिमेकी मुलुकले बुझिदिनुपर्ने उल्लेख गरेका छन् ।
फरक प्रशंगमा उनले चीनले नेपालमा एमाले र माओवादीलाई पुनः मिलाउन प्रयत्न गरेको उल्लेख गर्दै यी दुई पार्टीबीच फुट भएपनि चीन आफ्नो रणनीतिमा अघि बढेको बताएका छन् ।
पूर्वराजदूत रेले भारतमा केही संस्था र ब्यक्ति नेपाल पुनः हिन्दु राष्ट्र भइदेओस् भन्ने चाहेको बताएका छन् । तर, भारत सरकारको औपचारिक अडान त्यस्तो नभएको उनको भनाई छ ।