काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको छ ।
सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बोलाउने भनेपनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरुले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले पदबाट निकास दिनुपर्ने निस्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण जनताले न्याय पाउन नसकेको बताउनुभयो ।
उहाँले बारको आजको बैठकले न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले न्यायप्रशासन सम्हाल्न नसकेको निस्कर्ष निकाल्दै निकास दिनुपर्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले कोही एक व्यक्तिको कारण न्यायपालिकालाई बन्दी बनाउन नमिल्ने तर्क गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘आफ्नै अदालत भित्रका न्यायाधीशहरुलाई पनि विश्वास लिन नसकिने स्थितीमा पुगिसकेको रहेछ, १४ जना सर्वोच्च अदालतकै न्यायाधीशहरुले बैठकमा हामी नजाने भने बैठक बहिष्कार गर्नुभयो, न्यायका लागि आएका जनताले न्याय पाउन सकेका छैनन्, हामी निष्कर्षमा पुगेका छौँ कि, न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले अब सम्हाल्न सक्नुहुन्न, सफल हुन सक्नुभएन, उहाँले निकास दिनुपर्छ, न्यायापालिकालाई बन्दी बनाइ राख्नु हुँदैन ।’
अध्यक्ष श्रेष्ठले मंगलबार (भोलि) बिहान ११ बजे बस्ने बारको बैठकमा पदाधिकारीहरुको निस्कर्षबाट ठोस निर्णय लिने बताउनुभयो ।