महेश रिजाल, भालुवाङ ।
दाङको राजपुर गाउँपालिका वडा न. २ बेला दाङ निवासी ६३ वर्षीय कृष्ण बहादुर केसी नेकपा (माओवादी केन्द्र) परित्याग गरी पुनः राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ ।
लामो समयसम्म राजमोमै सक्रिय केसी गएको २०७४ सालमा राष्ट्रिय जनमोर्चा छोडेर माओवादी पार्टीमा प्रवेश गर्नु भएको थियो । करिब ५ वर्ष उक्त पार्टीमा छँदा राजपुर गाउँपालिका समितिको सहसचिव पदमा रही काम गर्नुभयो । त्यसक्रममा उक्त माओवादी कम्यूनिष्ट पार्टीको आधारभूत सिद्धान्त, व्यवहार र अनुशासन नभएको प्रष्ट भएपछि सो पार्टी परित्याग गरेको उहाँले बताउनुभयो ।
प्युठान जिल्लामा जन्मिएका केसी नेकपा (मसाल) का माहामन्त्री मोहनविक्रम सिंहको विचारबाट प्रभावित भई किशोरावस्थामै मसाल निकट जनवगीृय संगठनमा रहेर काम गर्नुभएको थियो । उहाँ २०७४ सालसम्म मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्लीमा कार्यरत हुनुहुन्थ्यो । आफूले लामो समय काम गरेको पार्टी नै आधारभूत रुपमा कम्युनिष्ट पार्टीको सिद्धान्त र विचार बोकेको महशुस भएकोले पुनः राजमोमै फर्किएको उहाँले बताउनुभयो ।
राजमो दाङ जिल्ला उपाध्यक्ष एवम् राजपुर एरिया समितिका इन्चार्ज महेश रिजाल र राजमो गढवा गाउँ समितिका सदस्य भोजराज खनालले केसीलाई राजमोको सदस्यता प्रदान गरी स्वागत गर्नुभएको छ ।

राजमो राजपुर गाउँपालिका – १ का अध्यक्ष बेमराज खनालको अध्यक्षतामा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा केसीकी धर्मपत्नी हिरादेवी केसी, छोरा शंकर बहादुर केसी र बुहारी बिष्णु कुमारी केसी पनि नेकपा (माओवादी केन्द्र) परित्याग गरी राजमोमा प्रवेश गर्नु भएको छ ।