काठमाडौं । १० बुँदे सहमतिको कार्यान्वयनको विषयले एमालेमा विवाद बढ्दै गएको छ । अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति केही होइन भनेपछि सोही सहमति गरेर पार्टी एकतामा फर्किएका उपाध्यक्ष भीम रावललगायत नेताहरु आक्रोशित भएका छन् ।
ओलीको अभिव्यक्तिबाट रुष्ट भएका नेता रावलले शुक्रबार स्थायी कमिटी बैठकमा फरम मत पेस गर्दै १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकको जिम्मेवारीबाट राजीनामासमेत दिइसक्नृुभएको छ ।
अध्यक्ष ओलीले माधव नेपाल आउँछन् कि, पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे सहमति गरिएको तर त्यसो नभएकाले अब यसको औचित्य नभएको भनेपछि एमालेभित्र पुनः विवाद सुरु भएको हो।
सोही विषयमा विवाद हुँदा सुनसरीमा नेकपा (एमाले) विभाजन भएको छ । शनिबार दुई पक्षले विभिन्न वडाहरुमा बेग्लाबेग्लै अधिवेशन गरेर समानान्तर कमिटी निर्माण गरेका हुन् ।
एमालेको मंसिरमा हुन लागेको १० औँ महाधिवेशन अन्तर्गत शनिबार देशभरका वडाहरूमा अधिवेशन भएका छन् । यही क्रममा धरान उपमहानगरपालिकाका ६ वटा वडामा समानान्तर कमिटी बनेका हुन् ।
एमाले सुनसरीमा यसअघिदेखि नै २०७५ जेठ २ मा फर्किने विवादले उग्र रुप लिएको थियो । धरानमा जेठ २ अघिको कमिटी र संस्थापन पक्षको कमिटीबीच अधिवेशन एकै ठाउँमा गर्ने या अलग अलग गर्ने भन्नेमा विवाद थियो।
वडा नम्बर १,५, ८, १०,११ र १७ मा सहमति हुन नसकेपछि अलग अलग अधिवेशन गरिएको छ । दुवै पक्षले एकले अर्कोलाई अवैधानिक करार गरिरहेका छन् । यद्यपि, अलग्गै अधिवेशन भएका वडाहरूमा संस्थापन पक्षको बहुमत संगठित सदस्यहरु देखिएका छन्।
सुनसरीमा संस्थापन पक्षका अध्यक्ष रहेका रेवती रमण भण्डारी नेतृत्वको कमिटीले वडा अधिवेशनको सन्दर्भमा सर्कुलर जारी गरेपछि जेठ २ अघि अध्यक्ष रहेका रमेश बस्नेतले विज्ञप्ति निकालेर विरोध गरेका थिए ।
करिब छ हजार वडा कमिटीको अधिवेशन
एमालेले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिनुभयो ।
वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।
कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् ।
एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।