काठमाडौँ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुप्रणालीको संयुक्त प्रभाव कायमै रहे पनि अब यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको देखिएको छ ।
गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ । त्यसले गर्दा जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस भएको छ ।
मङ्गलबार रातीबाट भने कर्णाली र सुदूर पश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश नं. १, प्रदेश नं. २, बागमती र गण्डकीमा बुधबार भारी वर्षाको सम्भावना छ ।
भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँ ठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उहाँले बताउनुभयो । उहाँको अनुसार आगामी बिहिबारदेखि मौसममा सुधार हुँदै जाने छ ।
हाल देशको प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । ती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।