काठमाडौँ । काठमाडौँ–विराटनगर हवाइ उडान अवरुद्ध भएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा पर्दा हवाई उडान बन्द भएको हो ।
विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठुला एयरलाइन्सले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका हुन् ।
यो गन्तव्यमा बुद्ध एयरको दैनिक ११ देखि १३ उडान हुन्थ्यो । विराटनगरको विकल्पमा भद्रपुरमा उडान थप्ने क्रममा रहेको सो एयरलाइन्सले जनाएको छ । भद्रपुर विमानस्थबाट यात्रुले आवतजावत गर्न सक्ने छन् । बुद्धले भद्रपुरमा दैनिक पाँच उडान गर्दै आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा अब यात्रुको मागअनुसार केही उडान थप्न लागिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।
स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका छन् । हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायुप्रणालीको संयुक्त प्रभावले नेपालमा विगत चार दिनदेखि बदली र वर्षा भइरहेको छ ।