काठमाडौँ । बाँकेमा हत्या गरिएका महिलाहरू निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत रुबी खानले अनशन तोडेकी छन् ।
मङ्गलबार सरकारसँग सहमति भएपछि रुबीले १२ दिन लामो आमरण अनशन तोडेकी हुन् ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएर रुबी खानले अनशन तोडेकी थिइन् ।
बाँकेमा हत्या गरिएका निर्मला र नकुन्नीको न्यायका लागि रुबीले काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशन बसेकी थिइन् । उनीसँगै पीडित परिवार र मानवअधिकारकर्मी धर्नामा बसेका थिए ।
रुबिले सरकारसँग लिखित सहमति भएपछि अनशन तोड्नुका साथै माइतीघरमा धर्ना बसिरहेका पीडितले पनि धर्ना स्थगित गरेका हुन्।
उनका माग सम्बोधन गर्न सरकारले सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १६ जनाको टोली २० दिन हिँडेर काठमाडौँ आएको थियो । काठमाडौँ आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनसन थालेकी थिइन् ।
नन्कुन्नी र निर्मलाको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो ।
पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको हो ।