काठमाडौं । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति शेर बहादुर देउवा सरकारले उल्ट्याएको छ । सोमबार बसेको मन्त्रिपषिद बैठकले पूर्ववर्ती सरकारले विभिन्न संस्थामा नियुक्त गरेका पदाधिकारीलाई बर्खास्त गरेको हो ।
सरकारले राष्ट्रिय खेलकुद परिषद्रा (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ। सिलवालको काम चित्त बुझ्दो नभएको र स्पष्टीकरण सोधिएको एक मन्त्रीले बताए। स्पष्टीकरणमा चित्त नबुझेपछि सिलवाललाई हटाउने निर्णय लिइएको उनको भनाई छ।
तत्कालिन प्रधानमन्त्री ओलीका विश्वासपात्र सिलवाल २०७६ असारमा पहिलोपल्ट राखेप सदस्यसचिव नियुक्त थिए। तर राष्ट्रिय खेलकुद ऐन २०७७ लागु भएपछि एक वर्षमै उनी पदमुक्त भए।
लगत्तै नयाँ ऐन अनुसार भएको पदपूर्तिमा पुनः सिलवाललाई ओली नेतृत्वको सरकारले २०७७ साउनमा दोस्रोपल्ट सदस्यसचिवमा नियुक्त गरेको थियो।
यस्तै, सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गरेको छ । यसैगरी, युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई पनि मन्त्रिपरिषदले बर्खास्त गरेको छ ।
ओली सरकारले २०७७ जेष्ठमा राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा ढुंगेललाई पुनः नियुक्त गरेको थियो भने २०७७ भदौमा युवा तथा साना ब्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा रोकालाई नियुक्ति दिएको थियो ।