महेश रिजाल, भालुबाङ ।
आइतबारदेखि परेको अविरल वर्षाका कारण हजारौं बिघा जमिनमा पाकेको धानबाली डुबेर नष्ट भएको छ । वर्षाले दाङको राजपुर–४ को भुर्किहवा ,कोम्रे, दुलैया, खल्सा, रोहिनिया, मोतिपुर, फोहरा, जङ्र्ह्वा, चङुवा, सालभौरी, नौसरा, गङ्दी , खयरभट्टी , जहरे दमारा लगायतका क्षेत्रहरुमा रहेको खेतमा पाकेको धान डुबेर नष्ट भएको छ ।
दसैँ अगाडि केही दिन घाम लागेर किसानहरूले अधिकांश खेतमा धान काटेर लडाएका थिए भने काट्न बाँकी धान काट्ने तर्खर गरिरहँदा बिगत दुई दिन देखि परेको अविरल वर्षाले धान डुबाएर नष्ट गरिदिएको हो ।
वर्षभरी खाने धानबाली पानीले नष्ट हुँदा अब कसरी गुजारा गर्ने हो भन्ने चिन्ता लागेको स्थानीय किसान गोमा भण्डारीले बताउनु भयो । त्यस्तै निकै दुःख गरेर असारमा रोपेको धान बाली घरमा भित्र्याउने बेलामा प्राकृतिक विपदाले नस्ट गरिदिएको स्थानीय किसान इन्द्र भण्डारीले बताउनु भयो ।
घरका धेरै परिवारलाइृ धान्ने वर्षभरिको खेती छिन भरमै पानीमा डुबेर नष्ट हुँदा जहानपरिवार कसरी धान्ने चिन्ता बढेको अर्का किसान राजकुमार विस्वकर्माले गुनासो गर्नुभयो । वर्षातका कारण लमही नगरपालिका, राप्ती, राजपुर, गढवा गाउँपालिका भित्रका हजारौं हेक्टर खेतमा लगाएको धान बाली डुबेर नष्ट भएको छ ।
यस्तै, अविरल वर्षाले राजपुर ४ बेलासी सोतामा आएको बाढीले स्थानीय राम फकिरे रैदासको घर डुबानमा परेको छ ।