काठमाडौँ । गत रातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूर पश्चिम प्रदेशका किसान चिन्तित भएका छन् ।
चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्राउने चटारो थियो ।
दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पुर्याएको कैलालीको गोदावरी नगरपालिकाका किसान भक्तराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गत राति परेको पानीले खेतमा काटेको धान सबै भिजेर क्षति पुग्दा चिन्ता थपियो ।’
सुदूर पश्चिम प्रदेशका अधिकांश जिल्लामा चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धानबाली भित्राउनमा केही दिनदेखि किसान व्यस्त थिए ।
खेतमा पानी जमेपछि काटेर सुकाइएको पूरै धान भिजेर क्षति पुगेको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।
‘यसपालि विगतको भन्दा पाँचदेखि सात प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान थियो’ उहाँले भन्नुभयो– ‘आइतबार दिउँसोसम्म किसान धान काट्नमै व्यस्त थिए, राति अचानक भएको वर्षाले बालीमा क्षति पुर्यायो ।’
क्षतिको एकिन विवरण आउन भने समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिनअघि नै बाली भित्राइसकेको भए पनि बढी जग्गामा खेती गर्नेले बाली भित्राइरहेका थिए ।
किसानको मुख्य आम्दानी स्रोतको रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।
प्रदेशमा कुल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबै भन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।
त्यस्तै, पहाडी क्षेत्रका डोटी, डडेलधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झन्डै ६० हजार ४०६ हेक्टरमा यो खेती हुने गरेको छ । (रासस)