काठमाडौं । नेपाल साफ च्यााम्पियनसिपको फाइनलमा पुगेको छ । माल्दीभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालले बगंलादेशसँग १–१ को बराबरी गर्दै साफमा पहिलो पटक फाइनलमा पुगेको हो ।
नेपाल ७ अंकमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । यसअघि सेमिफाइनलबाटै बाहिरिदै आएको नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
खेलको ८८ औँ मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८६ औं मिनेटमा अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। अन्जनले त्यो मौका खेर जान दिएनन्।
खेलको सुरुवातमा नै नेपालले फ्रिकीक पाएपनि त्यसलाई सुदपयोग गर्न नसक्दा अग्रता बनाउनबाट चुकेको थियो।
बगंलादेशका खेलाडीले नवयुग श्रेष्ठलाई लडाएपछि नेपालले फ्रिकीक पाएको थियो। सो फ्रिकीकमा सुजल श्रेष्ठको प्रहार पोष्टबाट बाहिरियो।
बगंलादेशले खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो। बंगलादेशका सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा बराबरी गर्ने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन।
खेलको ७८ औँ मिनेटमा गोलकिपरले रातो कार्ड खाँदै मैदान छाडेपछि बगंलादेश १० खेलाडीमा सिमित भएको थियो।
नेपालले अब उपाधिका लागि ३० गते भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ। आजै हुने दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्दैछन्। भारतलाई स्पष्ट जितको आवश्यक्ता हुादा माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ।

