मुगुको छायानाथ नगरपालिकामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । दुर्घटनामा परी मृत्यु भएका २८ जनाको शव निकालिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमनाथ महतले जानकारी दिनुभयो ।
प्रजिअ महतका अनुसार १५ जना गम्भीर घाइतेलाई हेलिकोप्टर र हवाइ जहाजबाट नेपालगञ्ज पठाइएको छ भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा दुर्घटनामा परेको हो ।
बस सडकबाट पाँच सय मिटर तल खसेको छ । भीरमा मृतक वा घाइते अड्किएको हुनसक्ने आशंकामा प्रहरीले खोजी जारी राखेको प्रजिअ महतले बताउनुभयो ।
छायानाथ रारा नगरकी उपप्रमुख सुन्तला रोकायाका अनुसार नेपालगञ्जबाट ७० जना यात्रु बोकेर बस गमगढीका लागि छुटेको थियो ।
Advertisement