माधव खनाल, सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका वडा नम्बर १ को आयोजनामा टुका खनालको निधन भएको नवौँ दिन २०७८ असोज २६ गते उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
राजमो अर्घाखाँचीका सचिव तथा भूमिकास्थान नगरपालिका नगर प्रवक्ता बाबुराम पन्थीले प्रमुख अतिथिको आसनबाट बोल्दै टीका खनालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देखाएको बाटोमा लाग्न अनुरोध गर्नुभयो ।
नेता पन्थीले गत वैशाखमा भारतको दिल्लीमा कोभिड–१९ बाट मृत्यु हुनुभएका टीका खनालका जेठा छोरा धनिश्वर राजमो खनालप्रति पनि शोकमन्तव्य प्रकट गर्नुभएको थियो ।
त्यस्तै, श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनालले टीका खनालको निधनले गर्दा राजमोले इमानदार तथा स्थानीयस्तरमा कुशल महिला नेतृ गुमाउनुपरेको बताउनुभयो ।
कार्यक्रममा राजमो भूमिकास्थान नगर सदस्य तथा भूमिकास्थान–१ का वडाध्यक्ष भोजराज खनाल, अखिल नेपाल शिक्षक सङ्घ भूमिकास्थानका नगर सचिव रामप्रसाद खनाल, राजमो भूमिकास्थान–१ का सचिव नारायण खनाल, अखिल नेपाल युवक सङ्घ भूमिकास्थान–१ का अध्यक्ष प्रकाश खना, राजमो भूमिकास्थान–१ का सदस्य तथा वडासदस्य ओमप्रसाद बेबबासेलगायतको उपस्थिति रहेको थियो ।
खनालका माइला छोरा हिमिन्त खनालको अध्यक्षता तथा माधव खनालको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
टीका खनालका पति, दुई छोरा, दुई छोरी, तीन बुहारी, दुई ज्वाइँ र सात नातिनातिना हुनुहुन्छ ।
खनालको २०७८ असोज १८ गते साँझ ६० वर्षको उमेरमा दम रोगको कारण निधन भएको थियो ।
