बुटवल । २२ औँ राष्ट्रिय सम्मेलन गरिरहेको विद्यार्थी संगठन अखिल (छैठौं) को बन्द सत्र जारी रहेको छ । बुटवलमा जारी राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्रका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
अखिल (छैठौं) का कार्यबाहक महासचिव शुवास जिसीले दिएको जानकारी अनुसार पूर्वमहासचिव भीमलाल पोखरेल, केन्द्रीय सदस्य खगेन्द्रा विष्ट र प्रतिनिधि टंक अवस्थी रहेको तीन सदस्यीय अध्यक्ष मण्डलको गठन गरी बन्द सत्रको कार्यक्रम सञ्चालन गरिएको छ । बन्द सत्रको सुरुमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समसामयिक विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
आज विभिन्न प्रतिवेदनहरु प्रस्तुत हुने र छलफल गर्ने कार्यक्रम छ । कार्यबहाक महासचिव जिसीका अनुसार अध्यक्ष विमल पोखरेलबाट राजनीतिक तथा सांगठिक प्रतिवेदन, कार्यबहाक कोषाध्यक्ष प्रतिभा जिसीबाट आर्थिक प्रतिवेदन, काबा महासचिव जिसीबाट विधान संशोधन प्रतिवेदन र उपाध्यक्ष गणेश अधिकारीबाट विशेष प्रस्ताव पेश हुने छ । ती प्रतिवेदनहरु उपर छलफल गरी आजै पारित गर्ने कार्यक्रम छ ।
भोली संगठनको आगामी कार्यक्रमसम्बन्धी प्रस्ताव पेश गर्ने र त्यसउपर छलफल गर्ने कार्यक्रम छ । भोली नै नयाँ नेतृत्वसमेत चयन हुने छ ।
‘राष्ट्रियताको रक्षा र मौलिक आन्दोलनका लागि हाम्रो आन्दोलन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २२ औँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ हिजोदेखि बुटवलमा सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।
यो पनिः यस्तो रह्यो अखिल (छैठौं) को २२औँ राष्ट्रिय सम्मेलन उद्घाटन

