गणेश अधिकारी, पोखरा ।
राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीले देश असफल राष्ट्र हुने खतरा बढेको बताउनुभएको छ । बुधबार राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै वामपन्थी नेता अधिकारीले शासकहरुको गलत रवैयाका कारण देशमा विदेशी हस्तक्षेप बढिरहेको भन्दै जनता सचेत नभए असफल राष्ट्र हुने चेतावनी दिनुभएको हो ।
नेता अधिकारीले भन्नुभयो, ‘देशलाई असफल रास्ट्र बनाउने खेल भै रहेको छ । गणतन्त्रलाई बद्नाम बनाइ देशलाई पछाडि धकेल्ने प्रपन्च भैरहेको छ । महंगी र भस्ट्राचारले सीमा नाघेको छ । यस्तो अवस्थामा जनता सचेत नभए देश असफल राष्ट्र घोषणा हुनसक्छ ।’
अधिकारीले संघीयताले देशको आर्थिक अवस्था कम्जोर बनाएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशका मन्त्री तथा सांसददहरु जनताको काममा भन्दा बिलासितामा लागी परेको आरोप पनि लगाउनुभयो । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न कुनै पहल नगरेको अधिकारीको आरोप थियो । यस्तै, उहाँले कसनै पनि हालतमा एमसीसी पारित गर्न नहुनेमा जोड दिनुभयो ।
‘एमसीसी जस्ता घातक सम्झौताले देश अमेरिकी सैन्य रणनीतिको अंग बन्ने खतरा छ’ अधिकारीले भन्नुभयो, ‘विभिन्न समयमा हुने गरेका रास्ट्रघाती सम्झौता खारेजीको लागि सबै जनता लाग्नुपर्ने आवश्यकता छ ।’
उहाँले एमसीसी सम्झौताले देशलाई समृद्ध बनाउने नभई देशलाई इन्डोप्यासिसिक रणनीतिको अंग बनाउने खतरनाक उद्धेस्य रहेको भन्दै अहिले देशका मुख्य राजनीतिक पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलहरु यसलाई पास गराउन लागि पर्नुको उद्धेश्य के हो भनी प्रश्न गर्नुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापा, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, राजमो पर्वतका अध्यक्ष गोबिन्द पौडेल, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले सम्बोधन गर्नु भएको थियो ।
विरोध सभाको अध्यक्षता राजमो गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल र सञ्चालन रविमोहन ढकालले गर्नु भएको थियो । पृथ्वी चोकमा विरोध सभा सुरु हुनु भन्दा पहिला सिर्जना चोकदेखि नाराजुलुस नगर परिक्रमा गरिएको थियो ।
राजमोले एमसीसी र संघीयताको खारेजी, महंगी, भ्रष्टाचार लगायत विषयमा विभिन्न प्रदेशमा एकैदिन विरोध सभा आयोजना गरेको हो ।