काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत श्याम सरण सिमा विवाद मिलाउन नेपाल आएका छन् । सिमा अतिक्रमणविरुद्ध नेपालमा प्रदर्शन बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर पूर्व राजदूत शरण नेपाल आएका हुन् ।
भारतले नेपालको कालापानी लगायतका क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि नेपालमा भारत विरुद्ध प्रदर्शन बढ्दै गएको छ । सो प्रदर्शनलाई मथ्थर पार्न र नेपाली नेताहरुको नाडी छाम्न शरण नेपाल आएको बुझिएको छ ।
भारतीय कदमको नेपालमा जनस्तरबाट ब्यापक विरोध भइरहेको छ भने सरकारले पनि उक्त नक्शालाई अस्किार गर्ने बताइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।
सन् २००४ देखि २००६ सम्म विदेश सचिव भएका श्याम शरण प्रधानमन्त्री मोदीको ‘म्यान्डेट’ लिएर आइतबार नेपाल आएको स्रोतले बताएको छ ।
काठमाडौँ बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम छ ।
श्याम सरण तत्कालिन सात दल र माओवादीबीच दिल्लीमा भएको १२ बुँदे सहमतिका योजनाकार मानिन्छन् । सोही सहमतिका आधारमा नेपालमा २०६२/०६३ को गणतान्त्रिक आन्दोलनपछि माओवादी लडाकु व्यवस्थापनका लागि भन्दै लामो समयसम्म संयुक्त राष्ट्रसंघीय मिसन ‘अनमिन’ नेपाल बसेको थियो । पछि नेपाल सरकारले नै अनमिनको म्याद थप्न अस्विकार गरेपछि बाध्यताबस नेपाल छोडेको थियो ।