काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन फिटजति जहाज डिस्ब्यालेन्स भएको छ ।
‘जहाज धस्सिएको हैन, पाकिङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो । अहिले जहाज निकाल्ने काम भइरहेको छ ’, उहाँले भन्नुभयो ।
जहाज उडानका लागि कुनै समस्या नरहेएको पनि प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।
नाइननानफ कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको हो । उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए ।
विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ ।
फसेको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।