काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार विचारी चाम्लिङको निधनप्रति दुःख प्रकट गरेको छ ।
महासङ्घ काठमाडौँ शाखाका सदस्य चाम्लिङको कोरोना सङ्क्रमणका कारण ६३ वर्षको उमेरमा निधन भएको महासङ्घले जनाएको छ ।
मिर्गौला रोगबाट समेत पीडित रहेका चाम्लिङलाई कोरोना सङ्क्रमण भएपछि एक महिनाअघि उपचारका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोना ठिक भइसकेका चाम्लिङलाई एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि १०÷११ दिनदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा उपचारकै क्रममा बिहीबार साँझ निधन भएको हो ।
स्वर्गीय चाम्लिङका दुई श्रीमती, दुई छोरी र एक छोरा छन् ।
तत्कालीन महासङ्घको मलेसिया शाखाका संस्थापक अध्यक्ष रहेका चाम्लिङ मलेसियामा रहेका बेला प्रवासी सन्देश साप्ताहिकका सम्पादक/प्रकाशक भई पत्रकारितामा सक्रिय थिए । हाल काठमाडौँमा रही सोही पत्रिका र विभिन्न अनलाइनमा क्रियाशील रहेका पत्रकार चाम्लिङको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र ऊर्जाशील पत्रकार गुमाएको छ भने सक्रिय सदस्य गुमाएको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार कोरोनाकै कारण हालसम्म २६ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।
कोरोना सङ्क्रमणको सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासङ्घले सबै पत्रकारसँग अपिल गरेको छ ।