शङ्करप्रसाद पोख्रेल, तमघास ।
गुल्मी दरबार गाउँपालिका वडा नं १ बलिथुममा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ ।
विरोधसभामा राष्ट्रिय जनमोर्चा गुल्मीका सचिव छविलाल सर्तुङीले देशमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध लड्ने पार्टी भनेकै राष्ट्रिय जनमोर्चा भएको दाबी गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले राष्ट्रघाती एमसिसी खारेज हुनुपर्ने बताउनुभयो । एमसिसीले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पर्ने भन्दै उहाँले यस्तो माग गर्नुभएको थियो ।
त्यसैगरी उहाँले सङ्घीयता नेपालका लागि अनावश्यक भएको बताउँदै त्यसलाई तत्कालै खारेज हुनुपर्ने बताउनुभयो ।
उहाँले देशमा अझै पनि प्रतिगामी खतरा यथावत रहेको तथा राष्ट्रियतामाथी खतरा कायमै रहेकाले त्यसका विरुद्ध नेपाली जनताको सजगताको अत्यन्तै आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा गुल्मीका सदस्य देवबहादुर रायमाझी र राजमो रेसुङ्गाका सचिव शङ्करप्रसाद पोख्रेलले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सत्यवती गाउँपालिकाको सचिव कमल पुलामीले गर्नुभएको थियो
कार्यक्रममा रक्तिम गुल्मीका हरि सर्तुङीको टिमले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।
