कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरका पुराना नेतामध्येका एक हुनुहुन्छ केशव सुवेदी । जस्तोसुकै कठिनाई भएपनि संगठनले दिएको जिम्मेवारी पुरा गर्न तयार रहने सुवेदी हाल स्वास्थ्यका कारण त्यति सक्रिय हुन सक्नुभएको छैन । तर, पार्टीप्रतिको प्रतिवद्धता र दृढतामा कुनै कमि आएको छैन । ७२ वर्षीय सुवेदी सुगरको समस्याबाट पीडित हुनुहुन्छ ।
उहाँ नेकपा (मसाल) र तत्कालिन नेकपा (एकताकेन्द्र) बीच भएको पार्टी एकताका क्रममा एकताकेन्द्रबाट पार्टीमा समायोजन हुनुभएको थियो । पछि एकताकेन्द्र– मसालमा आएको विभाजनमा उहाँले मसाललाई रोज्नुभएको थियो ।
त्यसयता नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएका सुवेदीले हालै केही व्यक्तिहरुले पार्टीलाई लगाएको ‘दक्षिणपन्थी’ को आरोप पूर्णतः अस्वीकार गर्नुहुन्छ ।
‘पार्टी दक्षिणपन्थी भयो भन्ने कुरामा म कुनै सत्यता देख्दिन’ सुवेदी भन्नुहुन्छ, ‘बरु ती साथीहरुमा धैर्यता रहेन, अधैर्यताले फुटपरस्त गतिविधिमा सामेल भएका हुन् ।’
उहाँले कञ्चनपुरमा गरिएको कथित जिल्ला भेलाका क्रममा आफूलाई पनि भेट्न केही व्यक्ति आएको बताउनुभयो । तर, उहाँले ती व्यक्तिहरुलाई फुटपरस्त गतिविधि गर्नु ‘विनासकाले बिपरित बुद्धि’ को संज्ञा दिएर पठाइदिएको बताउनुभयो ।
‘तपाईँहरुले जे गर्दै हुनुहुन्छ, यो सकिने मेसो हो । पार्टी र क्रान्तिबाट पलायन हुने बेलामा मान्छेको बुद्धि बिग्रिन्छ’ सुवेदीले फुटपरस्तहरुलाई दिएको जवाफबारे बताउनुभयो, ‘विनासकाले बिपरित बुद्धि हो यो । तपाईँहरु गलत बाटो नहिँड्नुस् ।’
स्मरणीय छ, सुदूरपश्चिममा केही व्यक्तिहरुले राष्ट्रिय जनमोर्चाको नाममा कथित भेला गरी प्रदेश र केही जिल्लाहरुमा समानान्तर समिति नै बनाएका थिए । विभिन्न बहानामा पार्टी समर्थकहरुलाई झुक्याएर वा भ्रममा पारेर गरिएको भेला र कथित समानान्तर समितिमा राखिएका अधिकांशले सो समूह परित्याग गरिसकेका छन् ।
राजमोले यही असोज २० गते सातै प्रदेशमा एमसीसीविरुद्ध विरोध सभाको आयोजना गर्दैछ । त्यसक्रममा धनगढीमा अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले सुदूरपश्चिमका नेता कार्यकर्ता सोही कार्यक्रमको तयारीमा जुटेका छन् ।