काठमाडौँ । कुवेत नेपाली एकता समाज अनुशासनविहीन तथा फुटपरस्त तत्त्वको विरुद्धमा उभिएको छ ।
महासचिव खुमबहादुर रायमाझीको हस्ताक्षरमा सेप्टेम्बर २७, २०२१ का दिन जारी प्रेसवक्तव्यमा एकता समाजको यस्तो स्थिति स्पष्ट पारिएको हो ।
प्रेसवक्तव्यमा लामो समयदेखि फुटपरस्त गतिविधिमा संलग्न व्यक्तिहरूद्वारा नै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नामबाट कथित छैटौँ भेला गरेको बताइएको छ ।
आफूहरू दुर्गाबहादुर केसी अध्यक्ष र लुमाकान्त पुन महासचिव रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति प्रतिबद्ध रहेको पनि प्रेसवक्तव्यमा उल्लेख छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“२०७८ असोज ११ गते तदनुसार सेप्टेम्बर २७, २०२१ का दिन भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा कथित छैटौँ भेला सम्पन्न भएको समाचारप्रति कुवेत नेपाली एकता समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त कथित छैटौँ भेलाबाट समितिमा चयन भएका पदाधिकारी र सदस्यहरूको विवरण हेर्दा लामो समयदेखि सङ्गठनमा फुटपरस्त गतिविधिमा संलग्न व्यक्तिद्वारा नै सो भेलाको आयोजित थियो भन्ने प्रमाणित हुन्छ । उनीहरूको उद्देश्य सकेसम्म सङ्गठनको नेतृत्व कब्जा गर्ने, नसके नीति, नियम, पद्धति, अनुशासनमा नबस्ने, समानान्तर गतिविधि सञ्चालन गर्ने र सङ्गठनमा फुट पार्ने नै हो । सोही योजनानुसार नै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा कथित छैटौँ भेला सम्पन्न भएको भन्न सकिन्छ ।
अन्त्यमा हामी यो स्पष्ट गर्न चाहन्छौँ कि सङ्गठनको नीति, विधान, पद्धति र अनुशासनका विरुद्ध हुने कुनै पनि प्रकारका कार्यक्रम र गतिविधिप्रति खाडी मुलुकअन्तर्गत कुवेतमा रहेका श्रमजीवी नेपालीलाई सङ्गठित गर्दै आएको सङ्गठन कुवेत नेपाली एकता समाजको कदापि समर्थन रहने छैन । कुवेत नेपाली एकता समाजको सिङ्गो सङ्गठन अध्यक्ष दुर्गाबहादुर केसीको नेतृत्व तथा लुमाकान्त पुन महासचिव रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति नै प्रतिबद्ध भएको यसै प्रेसवक्तव्यमार्फत सार्वजनिक गर्दछौँ ।”