दमौली (तनहुँ) । तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रको संरक्षणसँगै वन पैदावारको व्यवस्थित उपयोग र सामुदायिक वनको सक्रियताका कारण आर्थिक कारोबारमा उल्लेख्य योगदान पुगेको हो । वनलाई संरक्षणका क्षेत्रका रूपमा मात्रै नभई स्थानीय समुदायको आयआर्जन र रोजगारीका आधारका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको रानाभाटले बताउनुभयो ।
तनहुँमा १२२ वटा सामुदायिक वनमार्फत वन व्यवस्थापन तथा संरक्षणका गतिविधि सञ्चालन हुँदै आएका छन् । सामुदायिक वनबाट प्राप्त आम्दानी सम्बन्धित वन समूहका उपभोक्ताको हितमा खर्च गर्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ । वनबाट प्राप्त आम्दानीलाई वन संरक्षण, विकास, सामाजिक तथा सामुदायिक हितका काममा परिचालन गर्नुपर्नेमा कार्यालयले जोड दिएको छ ।
८७ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी
वन क्षेत्रले रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको कार्यालयले जनाएको छ । आव २०८२/८३ मा वनसम्बन्धी विभिन्न गतिविधिमार्फत ८७ हजार ८४९ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । वन व्यवस्थापन, वन पैदावार सङ्कलन तथा उपयोग, पोल थिनिङ, वन डढेलो नियन्त्रण, वृक्षरोपणलगायतका गतिविधिमा स्थानीय जनशक्तिको प्रयोग हुँदा रोजगारीका अवसर सिर्जना भएको कार्यालयले जनाएको छ ।
वन व्यवस्थापनअन्तर्गत आवश्यकताका आधारमा वन क्षेत्रको सुधार, घना भएका क्षेत्रमा ‘पोल थिनिङ’ तथा वनको उत्पादनशीलता बढाउने कामलाई प्राथमिकता दिइएको छ । वन क्षेत्रलाई दीर्घकालीन रूपमा उत्पादनशील र दिगो बनाउन वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापन आवश्यक रहेको रानाभाटले बताउनुभयो ।
१८ हेक्टरमा वृक्षरोपण
कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा जिल्लाका विभिन्न क्षेत्रमा १८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरेको छ । वन क्षेत्रको संरक्षण तथा विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपण गरिएको हो ।
वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने कार्यलाई प्राथमिकतामा राखिएको छ । वन क्षेत्रको विस्तारले भू–क्षय नियन्त्रण, जलाधार संरक्षण, जैविक विविधताको संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको रानाभाटले बताउनुभयो ।
सुक्खायाममा हुने वन डढेलो नियन्त्रणका लागि पनि कार्यालयले विभिन्न गतिविधि सञ्चालन गरेको छ । वन डढेलोबाट वन क्षेत्र, वन्यजन्तु तथा जैविक विविधतामा हुने क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय तथा सामुदायिक वन समूहको सहकार्यमा नियन्त्रणका काम अघि बढाइएको हो ।
डढेलो नियन्त्रणका लागि पूर्वतयारी, सचेतना तथा आवश्यकताअनुसार नियन्त्रणका गतिविधि सञ्चालन गरिएको कार्यालयले जनाएको छ । वन डढेलो नियन्त्रणमा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण हुने भएकाले सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइएको छ ।
वन क्षेत्र संरक्षणसँगै जिल्लामा वन्यजन्तुको उद्धार तथा राहतका गतिविधि सञ्चालन भएका छन् । मानव बस्तीमा प्रवेश गरेका, घाइते अवस्थामा भेटिएका वा जोखिममा परेका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन तथा उपचारको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
तीन हेक्टरमा रुद्राक्षको पकेट क्षेत्र
वन तथा कृषि क्षेत्रलाई जोडेर आयआर्जन बढाउने उद्देश्यले तनहुँमा रुद्राक्षको पकेट क्षेत्र स्थापना गरिएको छ । कार्यालयका अनुसार तीन हेक्टर क्षेत्रफलमा रुद्राक्षको पकेट क्षेत्र स्थापना गरिएको हो ।
रुद्राक्षखेतीलाई व्यावसायिक रूपमा अघि बढाउन सकिए स्थानीयस्तरमा आयआर्जनको अवसर सिर्जना हुनुका साथै वन तथा गैरकाष्ठ वन पैदावारको क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न सकिने रानाभाटको भनाइ छ ।
त्यस्तै, जिल्लामा आठ नमुना सामुदायिक वन स्थापना गरिएको छ । नमुना सामुदायिक वनमार्फत वन संरक्षण, व्यवस्थापन, वन पैदावारको दिगो उपयोग तथा समुदायको सहभागितालाई प्रभावकारी बनाउने उदेश्य राखिएको छ ।

