काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधमाझ प्रतिनिधि सभाबाट २०७८ असोज ७ गते बजेटसँग सम्बन्धित दुईओटा विधेयक पारित भएको छ ।
असोज ७ गते प्रतिनिधि सभाको बैठकले “आर्थिक विधेयक” र “राष्ट्र ऋण उठाउने विधेयक” पारित गरेको हो । यी विधेयक पारित भएसँगै अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ ।
बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरू संसदको बेल घेर्दै नाराबाजी गरिरहेका थिए तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाउँदै रहे ।
उनले अर्थमन्त्री जनार्दन शर्मालाई “आर्थिक विधेयक” र “राष्ट्र ऋण उठाउने विधेयक” प्रस्तुत गर्न अनुमति दिए । त्यससँगै अर्थमनत्री शर्माले यी दुई विधेयक निर्णयार्थ पनि पेस गरे । उनले विधेयक बहुमतले पारित भएको घोषणा पनि गरे ।
विधेयक पारित भएपछि प्रतिनिधि सभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।