दैलेख । राष्ट्रिय जनमोर्चा, दैलेखको भेला सदरमुकाम दैलेख बजारमा आयोजना गरिएको छ । बुधबार दिउँसो आयोजना गरिएको भेलाले राजमोको जिल्ला समिति पुनर्गठन गर्ने छ ।
पार्टीको जिम्मेवारीमा रहेका केही व्यक्तिहरु अन्य पार्टी प्रवेश गरेपछि उनीहरुलाई जिम्मेवारीबाट हटाउँदै नयाँ समिति निर्माण गर्न लागिएको केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले जानकारी दिनुभयो ।
‘दैलेखको नेतृत्व गत वर्षदेखि नै निस्क्रिय थियो । उनीहरु अन्य पार्टीमा जाने बहाना खोजिरहेका थिए’ शर्माले भन्नुभयो, ‘केही व्यक्तिले पार्टी छोड्दैमा दैलेखमा संगठनलाई खासै असर पर्दैन । भेलामा साथीहरुको उत्साहजनक उपस्थिति छ । पुनर्गठन गर्दै पार्टी अघि बढाउँछौँ ।’
राजमोले अन्य पार्टी प्रवेश गरेका ती कार्यकर्तालाई जिम्मेवारीबाट हटाइसकेको छ ।
कार्यालय सचिव हिमलाल पुरीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी भन्नुभएको छ, ‘राष्ट्रिय जनमोर्चा दैलेख जिल्लाका प्रदेश तथा जिल्लाका विभिन्न पदीय जिम्मेवारीमा रहेका भरत शाही, पूर्ण शाही, अमर नेपाली, सुरत रावत, नविन भट्टराई, ओमकुमार रावत र कविराज खत्री अन्य पार्टीमा प्रवेश गरेको सार्वजनिक जानकारी गरेकाले निजहरुलाई राष्ट्रिय जनमोर्चाका सबै जिम्मेवारी र साधारण सदस्य समेतबाट निस्कासन गरिएको छ ।’