काठमाडौं । संसदको प्रतिनिधि सभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयक पास भएको छ । सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधबीच बजेट पारित भएको हो ।
अदेशमार्फत आएको बजेटलाई संशोधन गर्न आएको प्रतिस्थापन विधेयक बजेटको नै अंग हुने गरी बजेट पास भएको हो । बजेटको तीनवटै विधेयक पास भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।
प्रतिनिधिसभा सुरु भएको दफाबार छलफलपछि विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधयेक र आर्थिक विधेयक पास भएको हो।अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
सभामुखले बजेट पास भएको घोषणा गर्दा एमालेका सांसदले भने नाराबाजी गरिरहेका थिए । बजेट पास गर्न सत्तापक्षीय दलले आफ्ना सांसदलाई ह्विप जारी गरेका थिए ।
अब बजेटसँग सम्बन्धित विषय आजै राष्ट्रिय सभा पठाउने तयारी छ ।
एमालेले माधव कुमार नेपाललगायत आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही गरेको सूची सभामुखले सार्वजनिक गर्नुपर्ने मागसहित संसद बैठक अबरुद्ध गर्दै आइरहेको छ ।