काठमाडौं । राष्ट्रिय जनमोर्चा प्रदेश २ का सदस्य एवम् बारा जिल्ला समितिका उपाध्यक्ष बालकृष्ण आचार्यले पार्टीमा फुट पार्न खोज्नेप्रति सतर्क रहन सबै सदस्यहरुसँग आग्रह गर्नुभएको छ । उहाँले पार्टीविरुद्ध गतिविधिमा संलग्नहरुलाई समेत पार्टी अनुशासनमा रहेर आफ्ना विचार राख्न आह्वान गर्नुभएको छ ।
युगदर्शनसँको सम्पर्कमा नेता आचार्यले एउटा जीवित पार्टीभित्र विभिन्न प्रकारका अन्तरविरोधहरु पैदा हुनु स्वाभाविक भएको भन्दै अन्तरविरोधको विधिसम्मत हल खोज्नुपर्ने बताउनुभयो ।
‘अन्तरविरोध हुँदैमा वा भिन्न मत राख्दैमा पार्टी फुटाएर अलग जाने कुरा स्वाभाविक होइन । यसले समग्र आन्दोलनमा क्षति पुर्याउँछ’ नेता आचार्यले भन्नुभयो, ‘पार्टीको अनुशासन र विधिमा रहेर आफ्ना मतभेदहरु चलाउँदै जाने हो । पार्टीले जे निर्णय गर्छ, त्यसको कार्यान्वयन प्रत्येक पार्टी सदस्यको दायित्व बन्छ ।’
नेता आचार्यले आफू नेकपा (मसाल) का तत्कालिन नेता दिनानाथ शर्माबाट प्रभावित भएर राजनीतिमा लागेको स्पष्ट पार्दै, तर दिनानाथले पार्टीमा फुट ल्याउने प्रयास गरेपछि आफूले साथ छोडेको स्मरण पनि गर्नुभयो । त्यसैले कुनै व्यक्ति विशेषको लहैलहैमा भन्दा पनि पार्टी नीति र संगठनप्रति प्रतिवद्ध रहनुपर्ने उहाँको भनाई छ ।
उहाँले जनताका जनजीविकाको सवाल, राष्ट्रियता, लोकतन्त्र जस्ता राजनीतिक विषयका संघर्ष नेकपा (मसाल) कै नेतृत्वमा अघि बढ्ने भन्दै पार्टीबाट अलग भएका साथीहरु यी मुद्दाबाट समेत विमुख हुने बताउनुभयो । पार्टीमा यसअघि देखिएका विभिन्न फुट र विभाजनबाट अलग भएका व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि कम्युनिष्ट आन्दोलन नै परित्याग गर्ने गरेको उहाँले उदाहरण दिनुभयो ।
‘पार्टीभित्र मतभेद हुन सक्छन् । धेरैथरी विचार आउन सक्छन् । सबैको विचार पद्धतिसम्मत तरिकाले छलफल गर्दै अघि बढ्ने हो । तर, पार्टीमा फुट पार्ने कुरा स्वीकार गर्न सकिँदैन’ आचार्यले युगदर्शनसँथ भन्नुभयो, ‘फरक विचार राखेर अलग भएका साथीहरुलाई पार्टीमै फर्कन र अनुशासनमा रहेर आफ्ना कुरा राख्न आग्रह गर्छु ।’