काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अब एमालेमा फर्काउनै नहुने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा केही नेताहरुले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताउनुभयो ।
उहाँले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरु तर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘हुनत केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कामरेड आउनुस् । तपाईको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको त्यो म बुझ्दिन । के लाई आवश्यकता ? उहाँ छउन्जेल पार्टी गुटबन्दी बाहेक केही भएन, माधव नेपालले यो साढे तीन वर्षमा पार्टीको पक्षमा, सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरुले सुन्नुभयो कहिल्यै ? सरकारको आलोचना, सरकारको बिरोध, प्रतिक्रियावादी भन्दा चर्को, विपक्षीहरुले के भन्थे यतै सत्ता पक्षकै नेताहरुले यति बोलीसकेपछि हामीले केही बोल्नु परेन । हाम्रो कुरा उहाँले भन्दिसक्नुभयो । लामो समय सँगै काम गरेपछि अलिक माया, ममता हुन्छ क्या । त्यसकारण अलिअलि लोभ लाग्छ साथीभाइको । त्यो लोभ छोड्दिनुपर्छ अब । काम छैन त्यसको लोभको ।’
अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तैगरी बिलाएर जाने टिप्पणी गर्नुभयो । उहाँले माओवादी केन्द्र र एमाले एकिकरण पछिको मूल पार्टी आफुहरुकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताउनुभयो । विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘तपाई त्रिभुवन इन्टरनेशनल एयरपोर्टबाट उडेको प्लेन देख्नुहुन्छ नि । उडिराखेको ठाउँबाट पहिले हेर्नुस् विशाल प्लेन हुन्छ कतिधेरै मान्छे बोकेको हुन्छ । उड्दै गयो खिइदै जान्छ । उड्दै जाँदा सानो हुँदै एकछिन पछि देखिन छोड्छ । अब प्रचण्डपथ त्यही हो । कता गए प्रचण्ड, कता गए प्रचण्डपथ । यात्रा त्यही हो अब । उडेको जहाज बिलाउँदै दृश्यबाट हटेजस्तो सानो हुँदै गएजस्तै ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य मान्यताको पनि पालना नगरेको बताउनुभयो । वर्तमान सरकारले बजेट ल्याउन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । आफुहरुले बजेट ल्याउन नरोकेको भन्दै उहाँले संसदमा कुदेर अर्थोक गर्न मिल्ने तर बजेट ल्याउन किन नमिल्ने भन्ने प्रश्न समेत गर्नुभयो ।