काठमाडौँ । विश्व बैङ्कले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि रु पाँच अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि बैङ्कका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबिच त्यससम्बन्धी दुई अलग अलग वित्तीय सम्झौतापत्रमा २०७८ भदौ ३० गते हस्ताक्षर भएको हो ।
सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि बैङ्कले उक्त रकम उपलब्ध गराएको हो ।
कार्यक्रममा अर्थसचिव मरासिनीले कोभिड–१९ बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुनर्निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
बैङ्कका निर्देशक जार्वाेसले सम्झौता कार्यन्वयनसँगै नेपालको शिक्षा र स्वास्थ्य प्रणालीलाई समावेशी एवम् उत्पादनशील बनाई मानवपुँजीको विकासलाई गति दिने अपेक्षा गरिएको बताउनुभयो ।
नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरिद् वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ ।