काठमाडौँ । देशभर आजदेखि शुक्रबारसम्म मौसममा बदली भई धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाकोे सम्भावना रहेको हो ।
विभागका मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो ।
हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश नं. २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी तथा सुदूर पश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।