नेपालगञ्ज । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् ।
राजमार्गमै बाघको आङ्तक फैलिएपछि जिल्ला प्रशासन कार्यालयलेले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी सञ्चालनमा रोक लगाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताउनुभयो ।
उहाँका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँनजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत नसकेको अवस्था छ ।
गत आइतबार ४५ वर्षीय एक पुरुषलाई महेन्द्र राजमार्गअन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर दुई पाटेबाघले खाएका थिए । मान्छे खानुभन्दा दुई दिनअघिदेखि नै गाभर सडकको वरपर दुई बाघ घुमिरहेको पाइएको स्थानीयवासी कुमार खड्काले बताउनुभयो ।
सोमबार छ पटकसम्म राजमार्गको वरपर देखा परेका ती दुइटै बाघ मङ्गलबार फेरि मान्छे खाएको घटनास्थलनजिकै राजमार्गमा देखा परेको खड्काले जानकारी दिनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले थप कुनै घटना हुन नदिन बाघ देखिएको क्षेत्रमा दुई घरपालुवा हात्ती र ठुलो सङ्ख्यामा सेना परिचालन गरिएको जानकारी दिनुभयो ।
ती दुई बाघ भर्खर माउबाट छुट्टिएको हुन सक्ने जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत साहले स्थानीय जनतालाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिनुभयो । अधिकृत साहका अनुसार बाघलाई नियन्त्रणमा लिन निकञ्जबाट प्राविधिक टोली पनि आइसकेको छ ।
अहिले हात्ती प्रयोग गरेर बाघलाई गाउँनजिक आउन नदिने र उसको प्राकृतिक बासस्थानतिर धपाउने काम भइरहेको छ । मान्छे खाएको ठाउँ र अन्य दुई स्थानमा सेन्सर क्यामेरा जडान गरिएको छ । (रासस)