केर सिंह अदै, कपिलवस्तु ।
अमेरिकी सहयोग सम्झौता एमसीसीविरुद्ध कपिलवस्तु जिल्लाको चार न. जीतपुरमा ७ दलीय मोर्चाले सिटी जुलुस प्रदर्शन गरेको छ । आइतबार सात राजनीतिक दलले सिटी फुक्नुका साथै एमसीसी को विरोधमा ब्यानर लेखी बेलुन उडाएका छन् ।
बैरियाबाट नाराबाजी तथा सिटी बजाउँदै चार न. चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । शंख बहादुर थारुले सञ्चालन गर्नु भएको सभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे, नेकपाका जिल्ला संयोजक कमल के सी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छबिलाल गैरे, नेकपा (माले) का चन्द्रकान्त आचार्यले सम्बोधन गर्नु भएको थियो ।
उहाँहरुले सम्बोधनका क्रममा राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा तथा वैदेशिक हस्तक्षेपको विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनताहरू एक हुहुनपर्ने बताउँदै एमसीसी सम्झौता कुनै हालतमा पास हुन नदिने बताउनुभयो ।
यदी पास भएमा एमसीसीका मतियारहरूका विरुद्ध आन्दोलनको आँधी बेहरी ल्याउने चेतावनी दिनुभयो । सात दलीय मोर्चा का नेता कार्य कर्ताहरुले एमसीसी खारेज गर, लेखिएका ब्यानर राखि ५० वटा बेलुन उडाएका छन् ।
कार्यक्रमपछि सात दलीय मोर्चाको समीक्षा बैठक बसी एमसीसी सम्झौता खारेज नभए असोज २ गतेदेखि पुनः आन्दोलन घोषणा गर्ने निर्णय भएको बताइएको छ ।