काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्ने नीति लिएको छ ।
शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकका क्रममा एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले एमसीसीलाई ‘रिजेक्ट’ गरेर जाने भन्दा संशोधनसहित पास गर्नु उचित हुने बताउनुभयो ।
एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालमा राजनीतिक भेटघाट तीव्र बनाइरहेका बेला एमालेले संशोधनसहित पास गरेर अमेरिकी अनुदान सदुपयोग गर्नुपर्ने बताएको हो ।
‘एमसीसीलाई ‘रिजेक्ट’ गर्ने पक्षमा एमाले छैन । हाम्रो त्यो निष्कर्ष होइन’ भट्टराईले भन्नुभयो,‘एमसीसीलाई राष्ट्रिय हित अनुकुल बनाउनुपर्छ भन्ने हो । हाम्रो पार्टी अहिले पनि त्यही निर्णयमा कायम छ । एमसीसीलाई संशोधनसहित अघि बढाएर अमेरिकी सहयोगको सदुपयोग गर्दा हुन्छ ।’
यसअघि शुक्रबार फातिमासँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जसरी पनि पास गर्ने र त्यसको लागि दलहरुलाई मनाउने बताउनुभएको थियो । फातिमासँगको लामो छलफलका क्रममा देउवाले एमसीसीबारे नेपालका दलहरुले कति पनि कुरा नबुझेको बताउनुभएको थियो ।
देउवाले संवादका क्रममा करिब ६० अर्ब अनुदान प्राप्त हुने एमसीसी परियोजना संसदबाट अनुमोदनका लागि केही समय कुरिदिन उपाध्यक्ष सुमारसँग आग्रह गर्नुभएको थियो ।

‘तपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छु’ देउवाको भनाई थियो, ‘आई विल डु दिस्, म जसरी पनि पास गर्छु ।’
तर देउवासँगको छलफलमा पनि फातिमाले अब कुर्न सक्ने समय नरहेको भन्दै तत्कालै पास गर्न आग्रह गरेकी थिइन् ।
भेटमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष फातिमा सुमारले भनेकी थिइन्,‘अब त धेरै ढिला भइसक्यो, हामी पर्खिने अवस्थामा छैनौँ । अब हामीलाई ‘एस, नो’ मा उत्तर दिनुस् ।
एमसीसी नेपाली संसदमा विचाराधीन रहेको अवस्थामा राजनीतिक दलहरुबीच सहमति कायम गराउन उपाध्यक्ष फातिमासहितको टोली बिहीबार नेपाल भ्रमणमा आएको हो।
एमसीसी प्रतिनिधिमण्डलले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेको थियो।
यस्तै शुक्रबार एमसीसीको प्रतिनिधिमण्डलले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो ।