बुटवल । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा रूपन्देही अध्यक्ष बद्रे आलमले एमसीसी नेपाललाई आधार बनाएर चीन घेर्न ल्याइएको बताउनुभएको छ ।
शुक्रबार बुटलमा आयोजित एमसीसी विरुद्वको संयुक्त विरोध सभालाई सम्बोधन गर्दै आलमले एमसीसी पास गर्न अमेरिकाले दिएको दबाबबाटै यसमा षडयन्त्र लुकेको प्रष्ट हुने बताउनुभयो ।
‘नेपाल गरिब मुलुक भएकाले संसार भरिबाट अनुदान प्राप्त हुने गर्दछ, स्वयं अमेरिकी कैयौं परियोजना चल्दै आएका छन्। ती कुनै पनि परियोजनामा संसदबाट पास गर्नुपर्ने आवश्यकता परेन । एमसीसी संसदबाटै पास गर्नु पर्ने र यसको लागि दिएको दबाबले त्यस भित्र गम्भीर षड्यन्त्र लुकेको प्रष्ट छ’ उहाँले भन्नुभयो, ‘एमसीसी नेपाललाई आधार बनाएर चीनलाई घेर्ने अमेरिकी रणनीति हो र यो आईपीएसकै अंग भएकोमा कुनै दुविधा छैन ।’
उहाँले विकासका कुरा नेपाल प्रवेशको बहाना मात्रै भएको उल्लेख गर्दै यो नेपालको असंलग्न परराष्ट्र नीति समेतको विरूद्द छ भन्नुभयो । नेता आलमले देशको स्वाधीनताको रक्षाको लागि नेपाली जनताको संघर्ष नै निर्णायक रहेको भन्दै एमसीसी विरुद्धको यो संघर्षमा पनि हातेमालो गर्न आम जनसमुदायसित अपिल गर्नुभयो ।
कार्यक्रममा विवेकशील साझा पार्टीबाट काशीराम पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चाका राम प्रसाद शर्मा, नेकपाका प्रतिनिधि खोमा त्रामु मगर, वैज्ञानिक समाजवादी पार्टी नेपालका डोलराज विक, नेकपा (माले) का गोपालमणी गौतम, नागरिक समाजका पदम कार्की, नेकपा (माओवादी केन्द्र) का विनोद उपाध्याय र राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापाले पनि सम्बोधन गर्नु भएको थियो ।
राजमोसहित २२ दल मध्येका रूपन्देहीमा क्रियाशील दलहरूको संयुक्त संघर्ष समितिले दैनिक संघर्षका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। सोही अन्तरगत एमसीसी विरुद्व राजमार्ग चौराहमा विरोध सभा सम्पन्न गरेको हो । कार्यक्रमको सञ्चालन राजमो रूपन्देही सचिव टान बहादुर केसीले गर्नुभएको थियो ।






