काठमाडौंँ । नेकपा (एमाले) का सांसदको विरोधका माझ राष्ट्रियसभाको २०७८ भदौ २५ गतेको बैठकमा राजनीतिक दलसम्बन्धी (दोसं्रो संशोधन) अध्यादेश–२०७८ प्रस्तुत भएको छ ।
विरोधका माझ अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश प्रस्तुत गर्न समय दिनुभएको थियो । यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्नेबित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई समय दिनुभएको थियो ।
सभामुख र निर्वाचन आयोगसँग मिलेर नेकपा (एमाले) लाई कमजोर बनाउने, टुक्र्याउने षड्यन्त्रमा लागेको आरोप सांसद दाहालले लगाउनुभयो । पार्टीले कारबाही गरेका १४ जनालाई सांसदको मान्यता दिन नहुने माग एमालेले आज पनि बैठकमा एमाले सांसदले राखेका थिए ।
अध्यक्ष तिमल्सिनाले आफ्नो भनाइमार्फत् सदन र आम नेपालीको ध्यानाकर्षण गराउनुभएकाले बसेर सदन चलाउने वातावरण बनाइदिनुहुन आग्रह गर्नुभएको थियो । अध्यक्षको आग्रह सांसदले नमानेपछि विरोधका बिच अध्यादेश प्रस्तुत भएको हो ।
विरोधका माझ बैठकले संविधानसभा सदस्यद्वय जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ २८ गते सोमबार १ बजे बस्ने भएको छ ।