काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा टेबुल गरेको छ ।
बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को नाराबाजीकाबीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष टेबुल गर्नुभएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ । बुधबार सुरु भएको प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले पटक बैठक सुरु गर्नासाथ प्रतिपक्षी एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सुरुमा १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।
पुनः बैठक सुरु हुनासाथ एमाले सांसदले माधव नेपालसहित १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भनेर बैठक अवरोध गरेका थिए ।
बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले नेकपा (एमाले) मा विभाजन ल्याउने षडयन्त्र गरेको आरोप लगाउनुभयो । भट्ट राईले बोल्नासाथ एमाले सांसदहरुले उठेर नाराबाजी गरेका थिए ।