काठमाडौं । नेकपा (एमाले) फुटेर बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत) समाजवादी सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बनेको छ भने प्रदेश २ मा एमाले भन्दा धेरै सांसद तान्न सफल भएको छ । हिजो (२२ भदौ) सम्म दल रोज्न दिइएको समयसिमाभित्र एमालेबाट निर्वाचित जनप्रतिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेर आफ्नो कित्ता ‘क्लियर’ गरेका छन् ।
एमाले विभाजनको असर केन्द्रमा धेरै, प्रदेशमा अलि कम र स्थानीय तहमा निकै कम देखिएको को छ । स्थानीय तहका जनप्रतिनिधि केन्द्रका सांसद र प्रदेश सभा सांसदको अनुपातमा कमैमात्र एमाले छाडेका छन् ।
प्रतिनिधि सभातर्फ १२० एमाले सांसदमध्ये २३ जना एकीकृत समाजवादीमा गए । प्रदेशतर्फ सुदूरपश्चिम र प्रदेश २ मा मात्र एमालेमा भन्दा नेकपा (एस)मा बढी प्रदेश सांसद रहे ।
स्थानीय तहतर्फ प्रदेश १ का १४ जिल्लाका १६३ जनप्रतिनिधिले नेकपा एस रोजे । जसमध्ये २ नगरपालिकाका प्रमुख र दुई उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष र ३ उपाध्यक्ष, दुई जिल्ला समन्वय समितिका प्रमुख र ३ उपप्रमुख र ३४ वडाध्यक्ष छन् ।
वागमती प्रदेश सभाका ५६ सांसदमध्ये १३ जनाले मात्र नेकपा एस रोजेका छन् । त्यहाँ नेकपा एमालेले नै प्रदेशसभामा ठूलो दल कायमै छ । १३ जिल्लाका ३२८ जना स्थानीय निकायका जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । रसुवाका कुनैपनि एमाले जनप्रतिनिधि नेकपा एसमा लागेनन् ।
गण्डकीमा नेकपा एसमा कुनैपनि प्रदेश सभा सांसद लागेनन् । कास्कीका ४ जना वडा सदस्यले मात्र नेकपा एस रोजेका छन् । स्याङ्जामा पनि संख्या न्यून रह्यो । त्यहाँ ७ जना जनप्रतिनिधिले मात्र नेकपा एस रोजे । तनहुँमा १३, गोरखामा ६२, बाग्लुङमा ७, म्याग्दीमा ३, मुस्ताङमा १, पर्वतमा २ जना नेकपा एसमा लागे । लमजुङमा सुन्य रह्यो ।
लुम्बिनी प्रदेशमा नेकपा एमालेका ३७ जना प्रदेशसभा सदस्यध्ये एकजना मात्र नेकपा एसमा लागेकी छिन् । स्थानीय निकायका जनप्रतिनिधिको संख्या निकै कम छ ।
कर्णालीमा झण्डै ३ सय ५० जना स्थानीय निकायका जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । सल्यानमा सबैभन्दा बढी १४२ जना नेकपा एसमा प्रवेश गरे । सुर्खेतमा १४ जना, दैलेखमा ६२, डोल्पामा ४२, जुम्लामा ४४, मुगुमा २८, हुम्लामा ५, कालिकोटमा ६५, जाजरकोटमा १० जनाले नेकपा एस रोजे ।
सुदूरपश्चिममा प्रदेशसभामा नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । २५ एमाले सांसद रहेकोमा नेकपा एसमा १४ सांसद पुगेका छन् । तर, स्थानीय तहतर्फ नेकपा एस नेकपा एमालेभन्दा कमजोर देखिएको छ । १२ नगरप्रमुख, १३ उपप्रमुख, २४ गाउँपालिका अध्यक्ष र २३ उपाध्यक्षसहित एमाले बलियो स्थितिमा कायमै रहेको छ ।