शुक्रराज भण्डारी/दाङ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले एमसिसी सम्झौताको खारेजीका लागि विरोधसभा सम्पन्न गरेको छ ।
दाङ घोराहीको सहिदचोकमा भदौ २२ गते भएको विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले एमसिसी माध्यमबाट नेपाललाई अमेरिकी साम्राज्यवादले औपनिवेशिक बनाउन खोजेको बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँले इतिहासमा कहिल्यै दासता स्वीकार नगरेको देशभक्त नेपाली जनता अमेरिकी साम्राज्यवादको कुनियतलाई असफल बनाइछाड्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
राजमो नेता थापाले अमेरिकाले एमसिसीको नाममा इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई सैनिक अखडा बनाउन खोजेको बताउनुभयो ।
नेपालमा कैयौँ विदेशी विकास परियोजना सञ्चालन भइरहेकोमा कुनै पनि विकास परियोजना संसदमा आउनुनपर्ने तर एमसिसी मात्रै किन संसदमा पास गर्नुपर्यो भन्ने प्रश्न गर्दै नेता थापाले सदन, सरकार र संविधानभन्दा माथि भएर नेपाललाई सैनिक रणमैदान बनाउनकै लागि एमसिसी नेपालमा भित्रिएको ठोकुवा गर्नु भयो ।
उहाँले यो विषयमा विभाजित नभएर सबै देशभक्त सबै राजनीतिक दल, नागिरक समाज र नेपाली जनतालाई यसको खारेजीका लागि सङ्घर्षमा गोलबन्द हुन आह्वान गर्नुभयो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (मसाल) का दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले एमसिसीको वकालत गर्नेहरू देशद्रोही शक्ति भएको आरोप लगाउँदै नेपाली जनताले उनीहरूलाई खबरदारी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य कमला जिसीले पनि सम्बोधन गर्नुभएको थियो ।
राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको विरोध कार्यक्रमको सञ्चालन जिल्ला सचिव बसन्त पौडेलले गर्नुभएको थियोे ।