काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले एमसिसी प्रकृतिको सहयोग लिन नहुने बताउनुभएको छ ।
एमसिसीको सम्बन्धमा अमेरिकी सर्तको प्रसङ्ग उठाउँदै सचिव पुरीले यस्तो अवधारणा व्यक्त गर्नुभएको हो ।
सचिव पुरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा २०७८ भदौ २२ गते राजधानीको संवाद डबलीमा आयोजित अन्तरक्रियामा मन्तव्य राख्दै हुनुहुन्थ्यो ।
‘यस प्रकारले सहयोग लिने प्रवृत्ति नै गलत छ’ उहाँले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवादको उद्देश्य र सर्तको आधारमा यस्तो सम्झौता गरेर सहयोग लिनुहुँदैन ।’
उहाँले एमसिसीजस्तो परियोजना नेपालको राष्ट्रिय हितमा नभएको बताउनुभयो ।
‘एमसिसी राष्ट्रिय प्राथमिकताको योजना होइन’ सचिव पुरीले भन्नुभयो– ‘यो कानुनभन्दा माथि हुन्छ । राष्ट्रिय स्वाधीनताको विरुद्ध हुन्छ । यसले सार्वभौमसत्ता कुण्ठित हुन्छ ।’
मन्तव्यको क्रममा उहाँले एमसिसी चीनका विरुद्ध घेराबन्दी गर्न ल्याइएको बताउनुभयो ।
‘एमसिसी स्वीकार गर्दा नेपालको चीनसँगको सम्बन्ध बिग्रन्छ’ उहाँले थप्नुभयो– ‘यो नेपालको असंलग्न परराष्ट्र नीतिको पनि विरुद्ध हुन्छ ।’
कार्यक्रममा नेकपा (माले) का महासचिव सी.पी. मैनाली, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेल, नेकपा (माओवादी–केन्द्र) का नेता लीलामणि पोखरेलका साथै प्रेमसिंह बस्न्यात, धनदेवी सुनार, भरत गौतम, डा. सुरेन्द्र केसी, यज्ञराज भण्डारी, डा. खगेन्द्र प्रसाईंलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नेकपाका पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलाले तथा सञ्चालन शङ्कर महराले गर्नुभएको थियो ।
