काठमाडौं । अखिल नेपाल युवक संघले सरकारले एमसीसी परियोजनाको विरोध गर्नेमाथि कारबाही गर्ने भन्दै दिएको धम्कीपूर्ण वक्तव्यप्रति आपत्ति जनाएको छ । अध्यक्ष अनिलकिशोर घिमिरेले आइतबार विज्ञप्ति प्रकाशित गरी सरकारको उक्त कदम निरंकुश एवम् अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको बताउनुभएको छ ।
यस्तै, विज्ञप्तिमा भारतले नेपाली भूमि अतिक्रमिण गरिरहेको, जयसिंह धामीलाई महाकालीमा बेपत्ता बनाएको तथा नेपाली र्साभौमिकताविरुद्ध दार्चुलामा हेलिकोप्टर उडाएकोप्रति पनि आपत्ति जनाइएको छ । युवक संघले चिनियाँ सिमामा विवाद छ भन्दै अध्ययन समिति बनाउने कार्यलाई ‘हास्यास्पद’ बताएको छ ।
यस्तो छ वक्तव्य
१) एमसीसीलाई नेपालको संसदबाट पास गराउन दौडधुप भैरहेको र एमसिसिका उच्च अधिकारीहरु नेपालमा आउन लागेको बिषयप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एमसिसी इण्डो प्यासिफिक रणनीति अन्तर्गतको योजना हो । नेपालमा यसलाई लागू गरियो भने नेपाल अमेरिकाको सैन्य क्याम्पमा सामेल हुने र नेपाल युद्धको अखडा बन्दै देशको सार्बभौमिकता र स्वाधिनता गुम्ने खतरा रहेकोले यसलाई पारित हुन नदिन र खारेज गर्न जोडदार माग गर्दछौं ।
एमसीसी पास नगर्न दबाब दिनको लागि प्रधानमन्त्री र सबै संसदहरुलाइ खबरदारी पत्र पठाउने निर्णय अखिल नेपाल युवक संघको केन्द्रीय समितिको बैठकले गरेको छ।
२) अहिलेको गठबन्धन सरकारले एमसीसी विरुद्धमा हुने आन्दोलनलाई दबाउने उदेश्यले बिरोध गर्नेलाइ कडा कार्बाही गर्ने धम्किपूर्ण बक्तव्य प्रकाशित गरेको छ । यो जनताको अभिव्यक्ति स्वतन्त्रता माथिको गम्भीर आक्रमण र निरंकुशताको अभ्यास हो । सरकारको यस्तो कार्यशैलीको घोर निन्दा गर्दै राष्ट्रघाती परियोजनाहरुलाइ खारेज गर्ने आन्दोलनमा शषक्त रुपमा उभिन सम्पूर्ण युवा लगाएत आम जनसमुदायमा अपिल गर्दछौं ।
३) दार्चुला जिल्लाको सदरमुकाम खलंगा स्थित नेपाली सेनाको गुल्म, लेकम, मालिकार्जुन, महाकाली, दुहु र ब्यास गाउँपालिका क्षेत्रको आकाशमा भारतीय हेलिकप्टर उडाइएको छ । नेपालको स्वीकृत बिना नेपालको आकाशमा भारतीय हेलिकप्टर उडाउने कार्य अन्तर्राष्ट्रिय नियमको उल्लंघन र देशको अखण्डता र सार्वभौमसत्तामाथिको हस्तक्षेप भएकोले यसको घोर भत्सर्ना गर्दछौं ।
४) महाकालीको तुइन काण्डमा छानबिन गर्न बनेको सरकारी टोलिको रिपोर्ट अनुसार भारतीय सुरक्षाकर्मीले तुइन चुडालिदिएर जयसिंह धामिको हत्या गरेको प्रष्ट हुँदाहुँदै पनि उक्त हत्यामा संलग्न भारतीय सुरक्षाकर्मिलाइ कार्बाही गर्ने प्रक्रिया अगाडि नबढेकोले तत्काल सरकारले भारतीय पक्षसँग पहल गरेर दोषीलाई कडा कार्बाही गराउन जोडदार माग गर्दछौं ।
५) नेपालको सीमा समस्या भारतसँग नै बढी रहेको छ । नेपालको हजारौं हेक्टर भूमि भारतले मिचेको छ । त्यसबारेमा सरकारले कुनै चासो र पहलकदमी लिएको देखिँदैन । तर देउवा नेतृत्वको गठबन्धन सरकारले हुम्लाको नामखलामा चिनले सीमा मिचेको हो वा होइन भनेर ठूलै महत्त्व दिएर छानबिन गर्न समिति बनाएको छ । यो आफैँमा हास्यास्पद छ । यो भारतलाई नै खुसी पार्ने खेलमात्र हो । यसैले चीनसँगको सम्बन्धलाई कमजोर बनाउने गरी आएको सरकारको भारतपरस्त प्रवृत्तिको बिरोध गर्दछौं ।