मेघराज रिष्मेली, जापान ।
बागलुङ ज़िल्लाको गलकोट नगरपालिका–९ का ४६ वर्षीय भीमबहादुर केसीको जापानमा निधन भएको छ । जापान टोकियोको निप्पुरीमा बस्ने केसीको शनिबार बिहान निधन भएको हो ।
केही समयदेखि सुगर, प्रेसरको बिरामी रहेका केसी पछिल्लो एक महिनादेखि अस्पतालमा रहेर उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिवार उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
करिब ८ वर्षदेखि जापानमा कुक भिषामा कार्यरत रहेका केसी केही समय अघिदेखि सख्त बिरामी भई नियमित उपचाररत रहेका थिए ।
जापानमा श्रीमतिसँगै बस्दै आएका केसी बिरामी भएकै कारण नियमित काम गर्न नसक्दा र अस्पतालमा उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्दा आर्थिक रुपमा समेत कमजोर बन्दै गएका थिए ।
केसीका नेपालमा दुई दाजु र उनीहरुको परिवार रहेका छन् । उनको जापानमा नै आगामी सोमबार दिउँसो १ बजे माचियामा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ । अन्तिम संस्कारमा सहभागी हुनका लागि पारिवारिक आफन्तजनलाई जानकारी गराइसकिएको बताईएको छ ।

