जगत बिक, मलेसिया ।
मलेसियामा एक नेपाली मजदुरको मृत्यु भएको छ । ड्युटीबाट फर्कीने क्रममा गाडीको सिटमा नै उनले ज्यान गुमाएका हुन् ।
रामेछाप जिल्लाको खाँडदेवी गाउँपालिका वडा नं २ का ३३ वर्षीय पूर्णलाल मोक्तानको शुक्रबार बिहान मृत्यु भएको हो ।
मलेसियाको मेरुमा रहेको टवग्लोव कम्पनीमा कार्यरत रहेका मोक्तान बिहीवारको नाइट डिउटी गरेर शुक्रबार बिहान कम्पनीको गाडीमा पेतालिनजयामा रहेको होस्टेलतर्फ फर्कंदै गर्दा बसको सिटमै मृत्यु भएको सँगै रहेका नेपालीले बताएका छन् ।
गाडीको सिटमा बसेर होस्टेलमा फर्किरहेको अवस्थामा उनले हातमा समाती राखेको मोबाइल फोन खस्न पुग्यो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई फोन खस्यो भनेर उठाउन खोजे । तर उनी केही पनि बोलेनन् । नजिकै भएको साथीले निदाइरहेको होलान् भनेर फोन टिपेर उनलाई उठाएर दिन खोज्दा उनी हलचल नगरेपछि हेर्दा उनको मृत्यु भैसकेको रहेछ ।
मोक्तान ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । उनको शव पोस्टमार्टमको लागि स्थानीय केलाङ अस्पतालमा लगिएको छ । उनको के कारणले मृत्यु भएको हो भनेबारे जानकारी पोस्टमार्टम पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।
उनका साथीहरूले यसअघि मोक्तान कुनै पनि बिरामी छु नभनेको र केही पनि औषषिहरु प्रयोग नगरेको जानकारी गराएका छन् ।