काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारत विरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ ।
प्रशिक्षक अलमुताइरीले भारत विरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने २०७८ भदौ १६ गते आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले नेपालभन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरी भविष्यका लागि खेल्ने बताउनुभयो ।
उहाँले भारत विरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले खासै असर नपर्ने जानकारी दिनुभयो । भविष्यलाई ध्यानमा राखेर तयारीसमेत गरिरहेको र दुवै खेलमा जित हासिल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतमाझका चार खेल बराबरीमा सकिएको इतिहास छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहिबार नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । खेल साँझ ५ः३० बजे सुरु हुने छ । त्यस्तै, नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्ने छ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुने छ । प्रशिक्षक अलमुताइरीले आफनो टोलीेको मुख्य लक्ष्य पनि साफ च्याम्पियनसिप नै भएको बताउनुभयो । (रासस)

