बागलुङ बजार । राष्ट्रिय जनमोर्चाले काठेखोला–४ तङ्ग्राममा उपभोक्ता समिति गठन गर्ने क्रममा काङ्ग्रेस एकलौटी कायैशैली अपनाएकोमा विरोध गरेको छ ।
राजमो काठेखोला गाउँपालिका वडा नं. ४ को समितिका अध्यक्ष विष्णु कँडेलले २०७८ भदौ १४ गते जारी प्रेसविज्ञप्तिमा यस्तो विरोध गरिएको हो ।
राजमोले भनेको छ– ‘यस्ता कार्यले समाजको समुन्नत विकासमा ठुलो अन्तरद्वन्द्व सिर्जना गरेको छ भने अर्कोतर्फ लाभान्वित क्षेत्रको जनताको नैसर्गिक अधिकारलाई बन्चित गरेको छ ।’
केही दिनअघि नारायणी माध्यमिक विद्यालयको पाइप टुक्रा टुक्रा पारी काटिएको दोषी पत्ता लगाउन आग्रह गरिएको सो विज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
‘काठेखोला गाउँपालिका वडा नं. ४ को कार्यालयद्वारा हाल तङ्ग्राममा आ.व. २०७८÷७९ को वार्षिक योजना तथा कार्यक्रमको उपभोक्ता समिति गठन कार्य अगाडि बढिरहेको छ । केही दिन अगाडिदेखि सुरु गरिएको योजना उपभोक्ता समितिको गठन प्रक्रियामा फरक पार्टीमा आस्था राख्ने ब्यक्तिलाई पाखा लगाई एकलौटी ढङ्गले नेपाली काङ्ग्रेसको हालीमुहाली हुने गरी आफ्ना कार्यकर्तालाई समितिमा राख्ने कामको सुरुवात गरिएको छ ।
तङ्ग्रामको समग्र विकासमा हामीले हिजोदेखि नै अभ्यास गर्दै आएको सहमति र सहकार्यको अभ्यासलाई नेपाली काङ्ग्रेस नेतृत्वको वडापालिकाले क्रमभङ्ग गर्ने काम गरेको छ । यसले तङ्ग्रामको विकासलाई अवस्य पनि हित गर्दैन । विभिन्न योजनाको उपभोक्ता समिति गठन प्रक्रियामा लाभान्वित उपभोक्तामध्यबाट सर्वसम्मत ढङ्गबाट उपभोक्ता समिति गठन हुनुपर्नेमा वडाको सत्ता सम्हालेको पार्टी नेपाली काङ्गे्रसले आफ्ना कार्यकर्तालाई मात्र समितिका मुख्य मुख्य पदमा राखी अन्य फरक पार्टीमा आस्था राख्ने व्यक्तिलाई योजना उपभोक्ता समितिको मुख्य पदमा कुनै पनि हालतमा अस्तित्व स्वीकार गर्न नसक्ने गरी अगाडि बढ्नु लोकतन्त्रकै उपहास हो । यस्ता कार्यले समाजको समुन्नत विकासमा ठुलो अन्तरद्वन्द्व सिर्जना गरेको छ भने अर्कोतर्फ लाभान्वित क्षेत्रको जनताको नैसर्गिक अधिकारलाई बन्चित गरेको छ ।
यस कार्यप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा काठेखोला गापा–४ तङ्ग्रामको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता घृणित कार्य यथाशीघ्र सच्चाई पुनः सहमति र सहकार्यका साथ अगाडि बढ्न हामी हार्दिक आग्रह गर्दछौ ।
साथै केही दिनअगाडि अज्ञात व्यक्तिहरूले काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्रामस्थित श्री नारायणी माध्यमिक विद्यालयको खानेपानीको पाइप टुक्रा टुक्रा हुने गरी काटिएको घटनाप्रति पनि हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाद्वारा खेद प्रकट गर्दछौँ। उक्त घटनाका दोषी पत्ता लगाई तुरुन्त कार्वाही गर्नसमेत सम्बन्धित निकायसँग माग गर्दछौँ ।’