काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पार्टीबाट निष्काशित अनुशासनविहीन तत्त्वहरूले गुटबन्दी गरेर पार्टी कब्जा गर्न चाहेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा प्रदेश नं. १ र २ को संयुक्त आयोजनामा २०७८ भदौ १२ गते आयोजित भर्चुअल प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
सङ्क्षिप्त मन्तव्यको क्रममा उहाँले अनुशासनविहीन फुटपरस्त तत्त्वहरूले वामपन्थी सङ्कीर्णतावादी चिन्तन अपनाएका कारण नेकपा (मसाल) लाई दक्षिणपन्थीको आरोप लगाएको बताउनुभयो ।
‘उनीहरूले वामपन्थी सङ्कीर्णतावादी चिन्तन अपनाएका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘त्यही कारणले उनीहरू नेकपा (मसाल) लाई दक्षिणपन्थी पार्टी भएको आरोप लगाइरहेका छन् ।’
उहाँले भन्नुभयो– ‘तर इतिहासले प्रमाणित गरिरहेको छ, हामी नेपालका सबै पार्टीभन्दा क्रान्तिकारी पार्टी हौँ ।’
मन्तव्यको क्रममा महामन्त्री सिंहले वामपन्थी सङ्कीर्णतावादीसित रणनीति हुने, तर कार्यनीति नहुने अवस्था रहेको बताउनुभयो ।
प्रतिगमनको खतरा रहिरहेका बेला गणतन्त्र समाप्त पार्न ध्यानकेन्द्रित गर्ने नीति वामपन्थी सङ्कीणवादी सोचाइ भएको उहाँको ठहर थियो ।
अहिले वैद्य समूहले वामपन्थी सङ्कीर्णतावादी धारको नेतृत्व गरिरहेको बताउँदै उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीबाट अलग भएका फुटपरस्त अनुशासनविहीन तत्त्वहरूले आफ्नो वामपन्थी सङ्कीर्णतावादी लाइन आठौँ महाधिवेशनबाट पारित गराउन खोजेका थिए, तर त्यो लाइनलाई बहुमतले अस्वीकार गरिदियो ।’
उहाँले आफ्नो वामपन्थी सङ्कीर्णतावादी लाइन अस्वीकार भएपछि फुटपरस्त तत्त्वहरूले जनवादी केन्द्रियताको सिद्धान्तमाथि हमला गरेर नेकपा (मसाल) माथि सङ्गठनात्मक प्रकारले पनि आक्रमण गरिरहेको बताउनुभयो ।
‘जनवादी केन्द्रियताको सिद्धान्त पुरानो भयो, अब त्यसलाई परिमार्जन गर्नुपर्दछ भन्ने धारणा उनीहरूबाट आइरहेको छ’ महामन्त्री सिंहले भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘राजनीतिक रूपमा वामपन्थी सङ्कीर्णतावादी र सङ्गठनात्मक रूपमा जनवादी केन्द्रियताको सिद्धान्तलाई अस्वीकार गरेर उनीहरूले यतिखेर नेकपा (मसाल) मा फुट ल्याउने कोसिस गरिरहेका छन् ।’
महामन्त्री सिंहले फुटपरस्त तत्त्वहरूको तौरतरिका गालीगलौज र भ्रम सिर्जना गर्ने रहेको पनि बताउनुभयो ।
‘उनीहरू अरू केही समय नेकपा (मसाल) लाई गालीगलौज र भ्रम सिर्जना गर्दै आफ्नो फुटपरस्त गतिविधि अगाडि बढाउने छन्’ उहाँले भन्नुभयो– ‘यसरी उनीहरूले केही इमान्दार साथीहरूलाई बिगार्न सक्छन् ।’
उहाँले अहिलेको तात्कालिक परिस्थितिमा राजनीतिक कार्यभार वहन गर्नुका साथै फुटपरस्त तत्त्वको गतिविधिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्क्षिप्त मन्तव्य राख्दै गणतन्त्र र धर्म निरपेक्षतामाथि अझै पनि हमला भइरहेको अवस्थामा त्यसको रक्षाका लागि एकजुट हुन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।
उहाँले पार्टीभित्रको अनुशासनलाई कायम राख्दै राजनीतिक जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकतासमेत जोड दिनुभयो ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले फुटपरस्त अनुशासनविहीन तत्त्वहरूले पार्टीको आठौँ महाधिवेशनअघि देखि नै पार्टीमाथि योजनाबद्ध प्रकारले कब्जा जमाउने, नेतृत्व हत्याउने प्रयास भइरहेको बताउँदै अहिले पनि सिङ्गै पार्टी ध्वस्त पार्ने उनीहरूको षड्यन्त्र रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘तर फुटपरस्त अनुशासनविहीन तत्त्वहरूको यो चरम रूपमा नाङ्गिने समय हो ।’
कसैले भनेको आधारमा नेकपा (मसाल) दक्षिणपन्थी नहुने बताउँदै उहाँले फुटपरस्त अनुशासनविहीन तत्त्वले फैलाएका भ्रमलाई सबैर चिरेर जानुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले नेकपा (मसाल) को न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति भए पनि अहिले त्यसलाई क्रियात्मक रूपमा अगाडि सार्ने अवस्था नरहेको बताउनुभयो ।
‘अहिले नै न्यूनतम कार्यक्रमको रूपमा नयाँ जनवादी क्रान्तिलाई क्रियात्मक रूप दिने अवस्था छैन’ सचिव पुरीले भन्नुभयो– ‘अहिले त २०६२–६३ सालको जनान्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्ने अवस्था हो ।’
उहाँले अहिलेको गणतन्त्रप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको आलोचनात्मक समर्थन रहेको पनि प्रष्ट पार्नुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले माक्र्सवाद र वाम सङ्कीर्णतावाद दुई विपरीत अवधारणा भएको बताउनुभयो ।
‘परिस्थितिअनुसार कार्यनीतिको रूपमा दुस्मनशक्तिसित पनि सहकार्य गर्न सकिन्छ भन्ने वामपन्थी सङ्कीर्णतावादीले बुझ्दैनन्’ उहाँले भन्नुभयो ।
उहाँले माओको प्रसिद्ध सिद्धान्त मित्रशक्तिसित एकता–सङ्घर्ष–एकता र दुस्मनशक्तिसित सङ्घर्ष–एकता–सङ्घर्षअनुसार नै नेकपा (मसाल) ले तात्कालिक राजनीति अपनाइरहेको बताउनुभयो ।
नेकपा (मसाल) लाई दक्षिणपन्थी आरोप लगाउने काम योभन्दा पहिला पनि भएको बताउँदै उहाँले प्रश्न गर्नुभयो– ‘हामीलाई दक्षिणपन्थी आरोप लगाउने तत्काली माले र माओवादी समूह, दिनानाथ शर्मा, रामसिंह श्रीस, डिलाराम आचार्य अहिले कहाँ छन् ?’
‘यो पार्टीको नीति दक्षिणपन्थी छ† यसको नेतृत्व स्वीकार गरिन्न, यो पार्टीको कार्यक्रम ठिक छैन भन्दै गुटबन्दी गर्नु फुटपरस्त प्रवृत्ति नै हो’ नेता शर्माले कार्यकर्ताहरूसित प्रश्न गर्नुभयो– ‘यस्तो प्रवृत्ति भएकालाई संसारको कुन मूर्ख पार्टीले जिम्मा दिन्छ ?’
उहाँले कसैले फरकमत राखेकै कारणले अनुशासन मान्दिनँ भन्ने छुट कम्युनिस्ट पार्टीमा नभएको बताउँदै उहाँले नेकपा (मसाल) मा पनि त्यस्तो छुट नरहेको बताउनुभयो ।
राजमो प्रदेश नं. १ का अध्यक्ष अमृत पाण्डेको अध्यक्षता तथा प्रदेश सचिव विशाल पहाडीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमोका केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, चिन्तामणि शर्मा, हेमकुमार गुरुङ, २ नं. प्रदेशका अध्यक्ष काजीलाल वाइबा र राजमो नेता हरिकान्त शर्माको पनि आतिथ्यता रहेको थियो ।